Logo

खेलकुद

मयनको शतकसँगै मधेश प्रदेशको चौथो जित



काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले चौथो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मधेश प्रदेशले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३१९ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिम प्रदेशले ४४.५ ओभरमा २३९ रन बनाउन सक्यो । जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो हार व्यहोरेको छ । सुदूरपश्चिम ६ अंकका साथ चौथो स्थानम रहँदा मधेश प्रदेश ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

टस जितेर पहिला ब्याटिङ गरेको मधेश प्रदेशका लागि मयन यादवले शतकीय पारि खेल्दा पवन शर्राफ र अनिल साहले अर्धशतकीय पारि खेलेका थिए ।

मयन यादवले १२८ बल फेस गर्दा २ छक्का र ८ चौकाको मद्दतले ११५ रन जोडे । यसैगरी पवन शर्राफले ६३ बलमा ७० रन बनाउँदा चार छक्का र चार चौका प्रहार गरे । यसैगरी अनिल साहले ७० बलमा २ छक्का र ६ चौकाको मद्दतले ६९ रन बनाए । रुपेश सिंहले २१, अभिषेक तिवारीले १६ र कप्तान हरिशंकर साहले १४ रन जोडे ।

सुदूरपश्चिम प्रदेशका शेर मल्लले सर्वाधिक ४ विकेट लिँदा विकाश आग्रीले २ विकेट लिए । नारायण जोशी र गजेन्द्र बोहोराले एक एक विकेट लिए ।

३२० रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको सुदूरपश्चिम प्रदेशले लगातार विकेट गुमाउँदै पराजय भोग्न बाध्य भयो ।

सुदूरपश्चिमका नरेन भट्टले १२१ रनको शतकीय पारि खेले पनि हार भने जोगिएन । भट्टले १२२ बल फेस गर्दा १ छक्का र १३ चौका प्रहार गरे । यसैगरी नारायण जोशीले २६, किरण ठगुन्नाले २०, नरेन साउदले १८, खडक बोहोराले १४ रन जोडे । यस्तै, गजेन्द्र बोहोराले १२ रन बनाएका थिए ।

मधेश प्रदेशका लागि राजेश यादव र प्रदीप पासवानले तीन–तीन विकेट लिए । यस्तै, रञ्जित कुमारले २ विकेट लिँदा हरिशंकर साह र पवन शर्राफले एक–एक विकेट लिए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ५ : ५७ बजे