Logo

मुख्य समाचार

सहकारीबाट पैसा आफ्नो खातामा नआएको रवि लामिछानेको दाबी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ सहकारीबाट नआएको दाबी गरेका छन् ।

कान्तिपुर दैनिकले सोमबार उनको खातामा उक्त रकम सहकारीबाट आएको भन्दै समाचार प्रकाशित गरेको थियो । त्यसको जवाफ दिन आयोजना गरेको पत्रकार सम्मेलनमा लामिछानेले ग्लोबल आइएमई बैंकबाट आफ्नो खातामा पैसा सहकारीबाट नआएको विवरणसहितको पत्र प्राप्त भएको बताए ।

प्रकाशित समाचारप्रति आक्रोस व्यक्त गरेका लामिछानेले भने, ‘सम्बन्धित सञ्चार माध्यमका साथीहरुलाई आजसम्म पर्खिदिनुस् भनेको थिएँ, पर्खिनुभएन । आज बैंकबाट मेरो खातामा समाचारमा दाबी गरिएको एक करोड ८० लाख रुपैयाँ नआएको बैंकले विवरणसहितको पत्र आएको छ ।’

आफूलाई लागेका आरोप प्रमाणित गर्न चुनौती दिँदै उनले दोषी भएमा कारबाही भोग्न तयार रहेको समेत स्पष्ट पारे । 

उनले भने, ‘ग्यालेक्सी टेलिभिजन छाड्दा मेरो खातामा १ करोड ८० लाख जम्मा भएको समाचार आयो, त्यो सहकारीकै पैसा हो भनेर स्थापित गर्न खोजियो, त्यो गलत हो । मेरो नाममा एउटा स्लीप देखाइएको छ । थाहा नभएको कुरालाई थाहा छैन नभनेर के भन्ने ? मैले आज बैकबाट विवरण मागेँ, विवरणमा मेरो नांममा १ करोड ८० लाख जम्मा हुँदा सो रकम खाता क्रेडिट गरिएको तर उक्त चेक क्लियरिङमा पठाउदा अपर्याप्त रकम हुँदा जम्मा नभएको लेखिएको छ ।’

पत्रकार सम्मेलनमा लामिछानेको पक्षबाट प्रष्टीकरण दिँदै बैंकर अनिलकेशरी शाहले पूर्वबैंकर अनिल केशरी शाहले समाचारमा गरिएको दाबी नमिलेको जिकिर गरे ।

‘१ करोड ८० लाखको चेक डिपोजिट भएको होइन भन्दैनौ, डिपोजिट भएको हो । तर सभापतिज्युले पैसा पाउनुभएन किनकी त्यो चेक गयो गएपछि अपर्याप्त रकम भनेर फर्किएको छ । जुन खाताबाट चेक लेखियो त्यहाँ पैसा पुगेन । यो २०२२ सालमा भएको हो । त्यो भएको भोलिपल्ट नै डेभिट भएको हो एकैछिनमा,’ उनले भने, ‘१ करोड ८० लाख पैसा रवि लामिछानेको खातामा आएको छैन । यस्तो धेरै घटना हुन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र गितेन्द्रबाबु (जीबी) राई जोडिएको सहकारी ठगीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धान अघि बढाएको छ ।

लामिछाने र राई एक समयका व्यापारिक साझेदार हुन् । राई अध्यक्ष रहेको ग्यालेक्सी फोरके टेलिभिजनमा लामिछाने सञ्चालकसहितका प्रबन्ध निर्देशक थिए । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि सीआइबीले उक्त मुद्दासँग सम्बन्धित फाइल मगाएको एक उच्च अधिकृतले बताएका छन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ५ : ४५ बजे