Logo

अर्थ

अर्थतन्त्र संकटमा छैन्, व्यवसायीहरुको आत्मबल घटेको छैन्



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले अर्थतन्त्र संकटमा रहेको र व्यवसायीहरुमा आत्मबल घटेको विषय सत्य नभएको बताएका छन् ।

सोमबार ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उनले १६ औं योजना र आगामी वर्षको बजेटले नेपालभित्र उद्योगधन्दा बढाउनको लागि भन्दा उद्योगको लागि कच्चा पदार्थ देशभित्र उत्पादन गर्नुपर्ने लक्ष्य लिएर अगाडि बढेको बताए ।

उनले भने, ‘अर्थतन्त्र संकटमा छ, व्यवसायीहरुमा आत्मबल छैन्, भन्ने कुरामा सत्यता छैन् । हामीले सम्भावना भएका कामहरु पनि गर्न सकेनौ किनभने उद्योगहरु ठप्प थिए । अब १६औं योजना र आगामी वर्षको बजेटले नेपालभित्र उद्योगधन्दा बढाउनको लागि देशभित्रै कच्चा पदार्थ उत्पादन हुनुपर्छ । त्यसमा हाम्रो लक्ष्य हुनुपर्छ ।’

उनले मुलुकको विकासलाई पुनःसंरचना गर्न आवश्यक भएको भन्दै त्यसको लागि व्यापारलाई बढाएर आयात घटाउनुपर्ने बताए ।

उनले भने, ‘हामी मुलुकको १६ औं योजना तर्जुमा गर्दैछौ, माघ मसान्तसम्ममा यो योजना तर्जुमाको काम सकेर फाइल गर्छौ । मुलुकको विकासलाई रिओरेन्ट गर्दैछौ । निर्यात बढाउन सक्ने आयातलाई रोक्नसक्ने खालको के विधि अपनाउनुपर्छ । त्यसमा भन्सारको पनि ठूलो महत्व हुन्छ ।’

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : ०९ बजे