Logo

मुख्य समाचार

चिसोबाट बच्न ३ सय ज्येष्ठ नागरिकलाई फाइबर सिरक



विराटनगर । विराटनगर महानगरपालिकाले चिसोबाट बच्न ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । अत्यधिक चिसो बढेपछि ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको हो ।

केही दिनयता बाक्लो हुस्सु लाग्ने गरेको र दिन घमाइलो हुन छाडेपछि चिसो अत्यधिक बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएपछि महानगर क्षेत्रका विद्यालयहरुमा तीन दिन बिदा समेत दिइएको छ ।

चिसो बढेपछि खासगरी जेष्ठ नागरिकहरुको दैनिकी कष्टकर बनेको छ । यही अवस्थालाई ध्यान दिँदै उनीहरुका लागि फाइबर सिरक वितरण गरिएको हो ।

विराटनगर महानगर वडा नम्बर १८ ले बुधबार आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरियो ।

विराटनगर वडा नम्बर १८ भित्र बसोबास गर्ने ६८ वर्षभन्दा माथिका ३ सय ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको वडाध्यक्ष जितेन्द्र साहले जानकारी दिए ।

कार्यक्रममा मेयर नागेश कोइराला, वडाध्यक्ष जितेन्द्र साहलगायतले सिरक वितरण हस्तानतरण गरेका थिए । कार्यक्रममा वडा सदस्य महेश मण्डल, सूर्यादेवी यादव, वडासचिव किरण सुवेदी, इलाका प्रहरी कार्यालय वरिष्ठ प्रहरी नायव निरीक्षक विजय बस्नेतलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ५ : ५५ बजे