Logo

मनोरञ्जन

बलिउड : सानिया र शोएबको वैवाहिक जीवन संकटमा



मुम्बई । टेनिस स्टार सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर शोएब मलिक खेलकुद पृष्ठभूमिका भए पनि बलिउडमा उनीहरुको क्रेज राम्रो छ । अहिले यो जोडी आफूहरुको वैवाहिक सम्बन्धमा आएको दरारका कारण चर्चामा छन् । हालैमात्र सानियाले इन्स्टाग्राम एकाउण्टबाट शोएबका सबै तस्वीर हटाएपछि उनीहरुबीचको वैवाहिक खटपट छताछुल्ल भएको छ ।

सानिया इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् र उनी आफूसँग जोडिएका अपडेटबारे फ्यानमाझ शेयर गरिरहन्छिन् । सानियाको इन्स्टाग्राममा उनका सबै फोटो र भिडियो हेर्न पाइन्छ । यही बीचमा उनले आफ्ना पति शोएबका सबै तस्वीर हटाएकी छन् ।

शोएबले पनि आफ्नो इन्स्टाग्रामबाट सानियासँग विवाह भएको जानकारीलाई हटाएका छन् । यसअघि उनले आफ्नो इन्स्टाग्रामको बायोमा आफू ‘सुपरवुमनको पति’ भएको बताएका थिए । उनीहरुको सम्बन्धविच्छेको विषयमा कुरा बुभ्दा सानियाले ‘हल्ला चलिरहेको छ । चासो राख्नु राम्रो होइन । तपाईं के भन्न चाहनुहुन्छ’ भन्दै जवाफ फर्काएकी थिइन् ।

केही समयअघि मात्र शोएबको पाकिस्तानी अभिनेत्री आयशा उमरसँग प्रेमसम्बन्ध रहेको चर्चा चलेको थियो । यहीकारण शोएब र सानियाको सम्बन्धमा दरार आएको निकटले दाबी गरेका छन् ।

सानिया र शोएबले सन् २०१० मा विवाह गरेका थिए । उनीहरुको एक छोरा एजहान छन् । सानियाले केही दिन अघि इन्स्टाग्राममा ‘जब कुनै कुराले तपाईंको हृदयको शान्तिलाई नष्ट गर्छ भने त्यसलाई जान दिनुहोस्’ लेखेकी थिइन् । उनको यो लेखाईपछि शोएब र सानियाको जीवन ठीकसँग नचलेको सबैले अनुमान गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ७ : ०२ बजे