काठमाडौं । चीनबाट फर्किएलगत्तै माल्दिभ्सका राष्ट्रपति डा.मोहम्मद मुइज्जुले मार्च १५ अघि भारतीय सेना फिर्ता बोलाउन भारतलाई आग्रह गरेका छन् । भारतविरोधी छविकै कारण चुनाव जितेका उनले बेइजिङबाट फर्किएपछि भने सानो देश भएपनि आफूहरुलाई कसैले डराउन नसक्ने टिप्पणी गरे ।
माल्दिभ्सस्थित भारतीय उच्च आयोगका अधिकारीहरू र मालेमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूबीच भएको भेटपछि उनको सो टिप्पणी आएको हो । माल्दिभ्सको राष्ट्रपति कार्यालयका नीति निर्देशक अब्दुल्ला नाजिमले राष्ट्रपति मुइज्जुले माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्ने प्रस्ताव राखेका बताए ।
‘बैठकमा राष्ट्रपतिले मार्च १५ अघि भारतीय सेना फिर्ता गर्ने प्रस्ताव राखेका थिए । सरकार, राष्ट्रपति कार्यालय र राष्ट्रपतिले बैठकको एजेन्डाका लागि यो मिति प्रस्ताव गरेका छन् । अहिले छलफल भइरहेको छ,’ नाजिमलाई उद्धृत गर्दै अहाधु पत्रिकाले लेखेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार नाजिमले भारतीय सेनाहरू माल्दिभ्समा बस्न सक्दैनन् र जनताहरूले पनि यही चाहेको उल्लेख गरेका छन् । मुइज्जुको पार्टीको मुख्य अभियान माल्दिभ्सबाट भारतीय सेना हटाउनु थियो । हाल, माल्दिभ्समा डोर्नियर २२८ समुद्री गस्ती विमान र दुई हेलिकप्टरको साथ लगभग ७० भारतीय सेना तैनाथ छन् ।
कार्यभार सम्हालेको दोस्रो दिन मुइज्जुले माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गर्न भारत सरकारलाई आधिकारिक रूपमा अनुरोध गरेका थिए । गत वर्षको डिसेम्बरमा राष्ट्रपति मुइज्जुले भारत सरकारसँगको वार्तापछि भारतीय सैनिक फिर्ता गर्ने सहमति भएको दाबी गरेका थिए ।
प्रतिक्रिया