Logo

मनोरञ्जन

सन् २०२४ मा पर्दामा देखिने छैनन् यी स्टार



मुम्बई । सन् २०२३ बलिउडका लागि जबरदस्त रह्यो । शाहरुख खान, सलमान खान, रणवीर कपुर, सनी देवल, रणवीर सिंहका फिल्मले बक्सअफिसमा सफलताको कथा लेखे । उनीहरुले केही पुराना रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाए ।

सन् २०२४ मा पनि बलिउडका केही फिल्मबाट बक्सअफिसमा सफलताको आशा छ । सन् २०२३ को झैं बक्सअफिसमा नयाँ रेकर्ड कोर्ने सम्भावित फिल्मको आँकलन सुरु भइसकेको छ । तर बलिउडका केही स्टारलाई सम्भवतः २०२४ मा दर्शकले पर्दामा हेर्न पाउने छैनन् । किनकि उनीहरुको हातमा फिल्मको लाइनअप छैन ।

शाहरुख खान
सन् २०२३ शाहरुख खानका लागि सम्झिने वर्षका रुपमा स्थापित भएको भयो । यो वर्षका उनका तीन फिल्म रिलिज भए । पठान र जवानले त १ हजार करोड क्लबमा आफूलाई दर्ता गराए ।
फिल्म डंकीले राम्रो प्रदर्शन त गर्न सकेन, तर बक्सअफिसमा अझै टिकिरहेको छ । उनको नयाँ फिल्म के हुनेछ भन्ने अहिलेसम्म घोषणा गरिएको छैन । यो अवस्थामा सम्भवत शाहरुख सन् २०२४ मा कुनै पनि फिल्ममा देखिने छैनन् । उनको आगामी फिल्म टाइगर भर्सेज पठान हो ।

सलमान खान
अभिनेता सलमानको अवस्था पनि शाहरुखकै जस्तो छ । सन् २०२३ मा उनका दुई फिल्म किसीका भाई किसीका जान र टाइगर ३ रिलिज भए । पहिलो फिल्म खासै सफल भएन । टाइगर ३ले बक्सअफिसमा औषत मात्र व्यापार ग¥यो । टाइगर भर्सेज पठानका अलावा सलमानको अर्को फिल्म द बुल हो । जसको निर्माण करण जोहारले गर्दैछन् । यो फिल्म सन् २०२५ मा मात्र रिलिज हुने बताइएको छ ।

रणवीर कपूर
सन् २०२३ मा रणवीरले आफ्नो करियरकै सबैभन्दा ठूलो सफलता पाए । तु झुठी मे मक्कार र एनिमलको बक्सअफिस सफलताले उनलाई बलिउडका सबैभन्दा भरोसायोग्य अभिनेताका रुपमा स्थापित गरायो ।
रणवीरका धेरै फिल्म अहिले घुमिरहेका छन्, जुन अगाडि रिलिज हुन्छ भन्ने टुंगो लागिसकेको छैन । रणवीरको आगामी फिल्म कुन हुनेछ भन्नेसमेत निक्यौल हुन सकेको छैन । उनी एनिमल पछि रामायणको सुटिङ गर्नेछन् । उनीसँग एनिमल पार्क र ब्रह्मास्त्र २ पनि पाइपलाइनमा छन् । तर यी फिल्म रिलिज हुन केही समय लाग्नेछ ।

इमरान हाशमी
टाइगर ३ मा आतिश रहमान बनेर सलमानसँग द्वन्द्व गरेपछि इमरान हाशमीको आगामी प्रोजेक्टबारे नयाँ जानकारी केही बाहिर आएको छैन । तेलुगू फिल्म ओजीमा इमरानको अभिनय रहे पनि यो फिल्म कहिले रिलिज हुने भन्ने टुंगो छैन ।

अभिषेक बच्चन
अभिषेकका लागि सन् २०२३ सुखद हुन सकेन । सन् २०२३ मा उनको एकैमात्र फिल्म घुमर रिलिज भयो । यो फिल्म थिएटरमा फेल भए पनि ओटिटीमा भने पास भयो । अभिषेकको हातमा सन् २०२४ मा कुनै फिल्म वा वेब सिरिज छैन ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : ४० बजे