Logo

खेलकुद

प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन : प्रिन्स र रसिलालाई उपाधि



काठमाडौं । एपीएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जनले प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

स्पोर्टस् हवको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २—० को सोझो सेटमा पराजित गर्दै उपाधि उचाले । पहिलो सेट २१—१६ ले जितेका प्रिन्सले दोस्रो सेटमा पनि प्रफुललाई २१—१६ मा नै रोकेका थिए । एपीएफका देवराज राना र नेपाल पुलिसका विष्णु कटुवालले तेस्रो स्थानमा चित्त बुझाए ।

यस्तै, महिला एकलतर्फ रसिलाले आफ्नै क्लबकी अणुमाया राई माथि सहज जित निकालिन् । पहिलो सेटमा अणुलाई २१—३ ले हराएकी रसिलाले दोस्रो सेट २१—१४ ले पराजित गरेकी हुन् । आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सीमा राजवंशी संयुक्त तेस्रो भए ।

बौद्ध लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको स्थानीय तर्फ आयोजक स्पोर्टस् हवका अनुज तामाङ र सुमित थोकरले जित हात पारे । अनुज र सुमितको जोडीले स्पोर्टस् हवकै अनीश गुरुङ र रमेश ठकुरीको जोडीलाई १८—२१, २१—११, २१—१३ ले पराजित गर्दै प्रथम स्थान हात पार्न सफल भएका थिए ।

तेस्रो स्थानमा ध्रुव खत्री र लाक्पा तामाङको जोडी तथा अश्मिल शाही र लाक्पा शेर्पाको जोडी संयुक्त तेस्रो भए ।

पुरुष शीर्ष २० वरीयता बाहेकको युगल तर्फ आयोजकका अभिषेक गुरुङ र निश्चल खत्रीको जोडी तथा कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेप बिच भएको प्रतिस्पर्धामा अधिकारी र लिनथेपको जोडीले २१—१४, २१—१९ को जित निकाल्दै उपाधि उचाले । तेस्रो स्थानमा एपिएफका भोज बहादुर गुरुङ र सन्तोष पनेरुको जोडी तथा विवेक कन्दङ्गवा र नेल्शन राईको जोडी संयुक्त तेस्रो भए ।

भेट्रान्स ३५ वर्ष माथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले उपाधि उचाले । खड्का र महर्जनको जोडीले आयोजकका आकाश छन्त्याल र आङ कुसाङ्ग शेर्पाको जोडीलाई २१—११, २१—१४ ले पराजित गर्दै उपाधि प्राप्त गरेका हुन् । तेस्रो स्थानमा चितवनका विद्वान गुरुङ र अमर रायमाझीको जोडी तथा पिस फिटनेस सेन्टरका सञ्जय कपाली र अनिल थाम्सुहाङ्गको जोडी रहे ।
४५ वर्ष माथिको प्रतिस्पर्धामा चन्द्रागिरि ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडीले पिस फिटनेस सेन्टरका सञ्जय कपाली र अनिल थाम्सुहाङ्गको जोडी माथि जित निकाल्दै उपाधि हात पारे । खत्री र पोखरेलको जोडीले कपाली र थाम्सुहाङ्गको जोडी माथि २१—१४, २१—१८ को जित निकालेका हुन् । गण्डकीका तिलक छन्त्याल र हिरा रोका तथा एपिएफका धिरेन्द्र चन्द र टोखाका टिका थापा मगरको जोडी संयुक्त तेस्रो भए ।

विजयी खेलाडीलाई पूर्व मन्त्री एवं नेकपा एमालेकी नेतृ पम्फा भुसालले पुरस्कार वितरण गरेकी थिइन् ।

करिब २५ लाखको लागत रहेको प्रतियोगितामा विजेता, उपबिजाते एवं तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद ४५ हजार, २५ हजार र १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

ब्याडमिन्टन सङ्घको मान्यता प्राप्त वरीयता सहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरीयता बाहेक), स्थानीय स्तर, मास्टर्स युगल ३५ वर्ष माथि र ४५ वर्ष माथि गरी ६ विधामा प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : १६ बजे