काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपाली राजनीतिमा युवा अगाडि आउनुपर्छ भन्ने गरिए पनि खुट्टा तान्ने प्रवृत्ति हाबी भएको बताएका छन् । संसद्मा एक वर्ष बिताएको अवसरमा पार्टीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले आफ्नो वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्दै खबरदारी जारी रहने उद्घोष गरे ।
‘नेपाली राजनीतिमा युवाहरुको आगमन हुनुपर्छ भन्ने त गरिन्छ तर नेपाली समाजमा खुट्टा तान्ने प्रवृत्तिले गर्दा युवालाई अगाडि जान दिने वातावरण नै छैन । आएको युवालाई अगाडि बढ्न नदिने, अनि विदेश पलायन भयो भनेर हुन्छ ? कस्तो संस्कार हो ?,’ उनले भने । संसदीय राजनीतिको पहिलो वर्षले धेरैथोक सिकाएको उनले बताए । ‘म यहीँबाट चुनौती दिन्छु, आगामी पुस्ता तपाईको सन्तानहरुले तपाईहरुले कस्तो व्यवहार गरेको छ भन्ने कुरा डिजिटल रुपमा रेकर्डमा बसिरहेको छ ।
आगामी पुस्ताले मेरो बुबाले यस्तो प्रतिक्रिया दिएको रहेछ भनेर गाली गर्न नपरोस्,’ उनले भने । आफूहरुको आवाजको सुनुवाइ नभएको भन्दै उनी केही आक्रोसित थिए । ‘म संस्कारसहित राजनीतिमा आएको हो, बरु राजनीति छाडिन्छ, संस्कार छोडिँदैन्,’ उनले भने, ‘आज लोकतन्त्र, प्रजातन्त्रको ब्याज खाएर बसिरहेकाहरुलाई म भन्न चाहन्छु – कुराले मात्रै लोकतन्त्र स्थापना हुँदैन, व्यवहार पनि चाहिन्छ, लोकतान्त्रिक पद्धतिमा जनताप्रति उत्तरदायी हुने पहिलो कुरा हो । विचार, वाद भनेको विस्तारै गर्ने हो ।’ रास्वपा सानो चित्त लिएर राजनीतिमा नआएको उनले बताए ।
‘राम्रो मान्छे जुन दलमा भए पनि अगाडि बढ्नु पर्छ भन्ने हाम्रो धारणा छ,’ उनले भने । अर्की सांसद सोबिता गौतमले नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिले परिदृश्य परिवर्तन गरेको बताइन । ‘चिया पसलमा बसेर गर्ने गफको शीर्षक पनि परिवर्तन भएको छ । जहाँ भ्रष्टाचारको विषय उठ्ने गरेको थियो, त्यहाँ आज संसदमा रवीले यस्तो बोल्यो, रास्वपाले सदनबाट आज जनताको कुरा उठाएको छ भन्ने हुन्छ,’ उनले भनिन् ।
राजनीतज्ञहरुले अमूर्त अभिव्यक्ति मात्रै दिने काम गरेको बताएकी उनले आफूहरु समस्या मात्रै नभइ समाधान पनि लिएर जाने गरेको दाबी उनले गरिन् । ‘हामी समस्या समाधानको बाटोमा नै अघि बढिरहेका छौं, रास्वपाले आफ्नो इमान बिर्सिएको छैन,’ उनले भनिन् ।
प्रतिक्रिया