Logo

मुख्य समाचार

राष्ट्रपति पौडेल र एफएओको प्रतिनिधिमण्डलबिच भेटवार्ता



काठमाडौं । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक डा.क्यू डोङ्ग्यू नेतृत्वमा आएको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार बिहान भएको भेटमा राष्ट्रपति पौडेलले कृषिलाई सम्मानित र आकर्षक पेशा बनाउन सके नेपाल आत्मनिर्भर हुनसक्ने बताउँदै यसमा नेपालले विश्व खाद्य संगठनबाट सहयोगको अपेक्षा गरेको बताए ।

जलवायु परिवर्तनको प्रभाव कृषि क्षेत्रमा पनि परेको उल्लेख गर्दै उनले पानीको स्रोत संरक्षण गर्न र जलवायु परिवर्तनले कृषि उत्पादनमा पारेको प्रभाव न्यूनीकरण गर्नेतर्फ अब विश्व समुदायको ध्यान जानुपर्नेमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनले एफएओलाई नेपालको विशिष्ट जलवायु संवेदनशीलतालाई बुझ्न र त्यसका लागि वित्तीय, प्राविधिक र क्षमता विकाससँग सम्बन्धित संशाधनहरूमा वृद्धि गर्न समेत आग्रह गरेका थिए ।

भेटका क्रममा नेपालको कृषि क्षेत्रको क्षमता अभिवृद्धीका लागि प्राविधिक सहयोग गर्न कृषि तथा खाद्य संगठन सँधै तयार रहेको महानिर्देशक डोङ्ग्यूल बताएका थिए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १२ : २१ बजे