रामेछाप । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विकास र समृद्धिको लागि साझा अभियान आवश्यक रहेको बताएका छन् । बिहीबारबाट रामेछापको मन्थलीमा रामेछाप उद्योग वाणिज्य संघले सुरु गरेको वृहत् रामेछाप महोत्सव कार्यक्रम उद्घाटन गर्दै उनले अब एकअर्कालाई गाली वा आलोचना गरेर उम्कने समय नरहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सबैको प्रयासबाट ल्याएको व्यवस्था भएकाले अघि बढाउन सबैको साझा प्रयास आवश्यक रहेको भनाइ उनले राखे ।
राजनीतिक दल र व्यवस्थाप्रति निराशा बढेको वर्तमान अवस्थामा नागरिकलाई उत्साहित गर्नुपर्ने जम्कट्टेलको जोड थियो । ‘जनतालाई उत्साहित गराउनु पर्छ, किसानलाई उत्साहित गराउनु पर्छ, जनतालाई भरोसा दिलाउनु पर्छ । हामी अहिले जनतालाई भरोसा दिलाउन ठाउँमा छौँ,’ उनले भने ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा माग गर्ने नागरिकको अधिकार भएको बताउँदै उनले त्यसमा अन्यथा सोच्ने नहुने बताए । नागरिकका माग सम्बोधन गर्न हरसम्भव प्रयास गर्नुपर्नेमा उनले जोड दिए ।
वाग्मती प्रदेश सरकार त्यसै नबसेको पनि उनले सुनाए । प्रदेश सरकारले विकास र समृद्धिको महत्त्वपूर्ण नीति बनाएको उनले दाबी गरे । कृषिमा गर्ने कामलाई नै उद्यमको मुख्य पेसा बनाउनु पर्छ भनेर वाग्मती प्रदेशका ८५ पालिकामा कृषिका पकेट कार्यक्रम घोषणा गरेको जानकारी दिए । ‘हामी किसानलाई जोड्ने गरी समुदायमा आधारित पकेट क्षेत्र सञ्चालन गर्दै छौँ,’ उनले भने ।
विकासका काममा आग्रह पूर्वाग्रह राख्न नहुने बताएका उनले अब प्रदेश सरकारले ५० लाख मुनिका योजना सञ्चालन नगर्ने सुनाए । ५० लाख मुनिका योजना अब स्थानीय तहमा नै पठाउने उनले जानकारी दिए ।
प्रतिक्रिया