Logo

मुख्य समाचार

ज्योतिष विद्यालाई गरिखाने माध्यम मात्र नबनाऔं : रक्षामन्त्री खड्का



काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई हचुवाका भरमा जीविकोपार्जनको माध्यम बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।

ज्योतिष विद्यालाई व्यवस्थित, वैज्ञानिक र अनुसन्धानमूलक रुपमा विकास गर्न आवश्यक भएको औंल्याउँदै त्यसका लागि सरकारले सहयोग गर्ने आश्वासन खड्काले दिए ।

मंगलबार काठमाडौंमा नेपाल ज्योतिष परिषद्को रजत महोत्सव पारेर आयोजित कार्यक्रममा रक्षामन्त्री खड्काले ज्योतिष परिषद्को सफलताको कामना गर्दै ज्योतिष विद्यालाई चीना बनाउने र टिप्पणी गर्नेभन्दा माथि उठाउनुपर्नेमा जोड दिए ।

उनले समाजमा ज्योतिष विद्याको महत्व उल्लेख्य रहेको बताउँदै हाल ज्योतिष विद्या जान्नेको नाममा गलत सन्देश फैलाउने र कमाईखाने पेशा बनाउने प्रवृत्ति बढेको भन्दै त्यसको अन्त्य गरी अझ वैज्ञानिक र व्यवस्थित गर्न आवश्यक भएको धारणा राखे । त्यसका लागि उनले संवद्ध पक्षको ध्यानाकर्षण गराए ।

‘ज्योतिष विद्यालाई यदाकता हचुवाको रुपमा अभ्यास गर्ने र यसलाई जीविकोपार्जनको माध्यम मात्र बनाउने गरेको देखिएको छ । त्यसलाई निराकरण गरी यो विद्यालाई वैज्ञानिक र अनुसन्धानमूलक विद्याको रुपमा विकास गर्न आवश्यक छ । यसतर्फ यो संस्था र सबै विज्ञहरुले विशेष ध्यानदिनुहुन अनुरोध छ,’ खड्काले भने । 

परिषद्ले ज्योतिष विद्याको माध्यमबाट नागरिकमा ज्योतिषिय सन्देश प्रवाह गर्न निकै ठूलो भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गरेका खड्काले ज्योतिष विद्यालाई समय प्रविधि सुहाउँदो गरी विकास गर्नुपर्नेमा जोड दिए ।

खड्काले भने, ‘ज्योतिष हाम्रो समाज,पारिवारिक र व्यक्तिगत जीवनसँग अभिन्न रुपमा गाँसिएको विद्या हो । यो प्रमाणित भैसकेको छ । यसलाई हामीले अब नयाँ प्रविधि र पद्धतिसँग आवद्ध गर्दै विश्वभर यसको प्रचार–प्रसारमा अघि बढ्न अझ बढी जोड गर्नुपर्ने आवश्यकता छ । यो संस्थाले त्यसको लागि पहल गरोस् । आवश्यक सहयोग गर्न सरकार तयार छ ।’

कार्यक्रममा ज्योतिष विद्याको क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १ : ३१ बजे