Logo

विश्व

दक्षिण कोरियाली संसदले कुकुरको मासु खाने चलनको अन्त्य गर्दै



काठमाडौं । दक्षिण कोरियाको संसदले कुकुरको मासु खाने र बेचबिखन गर्ने परम्परागत चलनको अन्त्य गर्ने भएको छ ।

त्यहाँको संसदमा आज मंगलबार यस बिषयमा मतदान हुने अपेक्षा गरिएको छ । 

पशु कल्याणको लागि काम गरिरहेका संस्थाहरुले घरपालुवा जनावर कुकुरको मासु खानु र त्यही प्रयोजनका लागि बेचबिखन गर्नु अन्याय भएको भन्दै वर्षौंदेखि अभियान नै चलाईरहेका थिए ।

यसमा ठूलो  संख्यामा समर्थन जुट्दै गएको पाईएपछि दक्षिण कोरियाका राजनीतिक दलहरु र सरकारले यसमा पुनर्विचार गर्न लागेका हुन् । 

दक्षिण कोरियालीले उच्च महत्व दिँदै आएका  कुकुरको मांशाहार त्यहाँको शताब्दीयौं पुरानो चलन मानिन्छ। तर पछिल्लो समय  विवादास्पद मानिँदै आएको यो अभ्यासलाई अन्त्य गर्न आज संसदमा मतदान हुँदैछ ।

गर्मीयाममा कोरियाली जनता कुकुरको मासु खानुलाई पाचन प्रणाली स्वस्थ्य राख्ने अभ्यास ठान्छन् । धेरैजसो पाका उमेरका व्यक्तिहरु कुकुरको मासु भोजन गर्छन् ।

यस्तो छ कानूनी प्रावधान
त्यहाँको राष्ट्रिय सभाले आज कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने विशेष विधेयक पारित गरेपछि त्यो व्यवसायमाथि कानुनी प्रतिबन्ध लाग्ने छ।

सत्तारुढ पिपुल पावर पार्टी (पीपीपी) र प्रमुख प्रतिपक्षी डेमोक्र्याटिक पार्टी अफ कोरिया (डीपीके) ले पशु अधिकारको बढ्दो चेतना र बढ्दो संख्याको बीचमा मासु बेचबिखनको उदेश्यले गरिने कुकुरको प्रजनन, काटमार र बिक्री वितरण प्रतिबन्ध लगाउने विशेष विधेयकको लागि संयुक्त रूपमा अभियान चलाएका थिए।

यो ऐन पास भएपछि लामो समयदेखि कुकुरको मासुको व्यवसाय गर्दै आएका व्यवसायीको रोजगारी संकटमा पर्ने भएकाले उनीहरुलाई अल्पकालका लागि अनुदान दिन ती पार्टीहरुले सरकारसँग माग पनि गरेका छन् ।

यो कानून पास भएपछि पनि तीन वर्षपछि २०२७ मा मात्र कार्यान्वयनमा आउने बताईएको छ। त्यसपछि यसलाई उल्लङ्घन गर्नेहरूलाई अधिकतम दुई वर्षको जेल सजाय वा ३ करोड कोरियन वान अर्थात् २२ हजार ७६८ अमेरिकी डलरसम्मको जरिवाना हुन सक्छ।

सरकारी तथ्यांकअनुसार कोरियामा कुकुरको मासुबाट बनेको खाना बिक्री गर्ने करिब १ हजार १ सय ५० कुकुर फार्म, ३४ वटा बुचरिङ व्यवसाय, २ सय १९ वितरक र १ हजार ६ सय रेष्टुरेन्टहरू सञ्चालनमा छन्।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ११ : २९ बजे