Logo

राजनीति

जयशंकरको भ्रमणका क्रममा गोप्य र षड्यन्त्रपूर्ण सम्झौता गरियो : पोखरेल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा गठबन्धन सरकारले राष्ट्रको स्वाधिनतामा आँचपुग्ने कतिपय गोप्य र षड्यन्त्रपूर्ण ढंगले सम्झौता गरेको आरोप लगाएका छन् ।

पोखरेलले सो विषयलाई लिएर एमाले गम्भीर भएको बताए ।

शनिबार ललितपुरमा एमाले निकट जनसाँस्कृतिक महासंघले आयोजना गरेको ‘जबजको सौन्दर्य चिन्तन’ नामक ग्रन्थको लोकार्पणमा बोल्दै पोखरेलले जयशंकरको भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दलसँग सरकारले कुनै प्रकारले छलफल नगरेकोप्रति तिक्तता पोखे ।

एमाले आफ्नो एजेण्डामा स्पष्ट रहेको उल्लेख गर्दै उनले नेपालको राष्ट्रिय स्वार्थलाई हित हुनेगरी छिमेकीसँग आँखामा आँखा जुधाएर अहिलेको सरकारले काम गर्न नसकेको बताए । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका विषयहरु गठबन्धन सरकारले धुमिल बनाउँदै लगेको पोखरेलको आरोप थियो ।

‘हालसालै छिमेकी देशका परराष्ट्रमन्त्री भ्रमणमा आउँदा गरिएका सहमति र सम्झौताहरु नेपालका कुनै प्रतिपक्षी दलहरुसँग सल्लाह वा विमर्श केही भएको छैन् । कुनै जानकारी छैन् । गोप्य ढंगले र षड्यन्त्रपूर्ण ढंगले वास्तवमा नेपालको स्वाधिनतामा आँच आउने पुग्ने हिसावले कतिपय विषयहरु सम्झौता गर्ने नाममा गरिएका छन् । यसलाई नेकपा एमालेले अत्यन्तै गम्भीर रुपमा लिएको छ ।’

आफ्नो सरकारको पालामा बलियो बनाएको राष्ट्रिय एकताको कुरालाई अहिलेको सरकारले धुमिल पारेको आरोप लगाउँदै पोखरेलले सामाजिक सद्भाव र एकतालाई खल्बल्याएर राष्ट्रिय स्वाधिनतामाथि आँच पुर्याउन खोजिएकाले त्यसतर्फ शर्तक रहेर सामाजिक सद्भाव अभिवृद्धि गर्न लाग्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ४ : ५९ बजे