Logo

निर्वाचन विशेष

गठबन्धन बैठकः राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने




काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेलाई नसमेटिने बताएका छन् ।

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुने बताए । सिट बाँडफाँटको विषयमा शनिबार(आज)४ बजे गठबन्धनको बैठक बस्ने जानकारी दिए ।

शनिबार विहान बालुवाटारमा बसेको गठबन्धनको बैठक पश्चात ४ बजे पुनः बैठक बस्ने र ५ बजे सरकारमा सहभागी एवम सरकारलाई सहयोग गरिरहेका दलहरुबीच पनि बैठक बसेर निर्वाचनका बारेमा टुङ्गो लगाउने लेखकले बताए ।

उनले भने, ‘सरकारमा सहभागी चार दलका नेताहरुको बीचमा छलफल भएको छ, राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयमा र आज फेरि ४ बजे पुनः बैठक बस्ने कुरा भएको छ । ५ बजे सरकारमा सहभागी सबै दलहरु र सरकारलाई सहयोग गरि रहेका दलहरुको पनि बैठक गरेर राष्ट्रिय सभा सदस्य निर्वाचनका बारेमा टुङ्गो लगाउने निर्णय भएको छ ।’

यस्तै उनले सत्ता गठबन्धनले सदासयतापूर्वक सबैसँग मिलेर जाने भन्नेमा थियो तर एमालेसँग कुरा नमिलेपछि अब सत्ता गठबन्धन मिलेर चुनाव लड्ने बताए ।

‘एउटा बृहत लोकतान्त्रिक धारणाका साथ जान सत्ता पक्ष, प्रतिपक्ष र प्रमुख प्रतिपक्षबीच राष्ट्रिय सभाका निम्ति मिलेर अघि बढ्न सकिन्छ भनेर छलफल भइरहेको थियो तर त्यस्तो संभावना टरेकाले गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुनेछ,’ लेखकले भने ।

एमालेले शुक्रबार नै राष्ट्रिय सभा निर्वाचनमा एक्लै लड्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  २ : ०३ बजे