Logo

मुख्य समाचार

सडक किनारका फुटपात पसलका कारण दुर्घटनाको जोखिम



रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा निर्माणधिन सडक किनार ठेला वा फुटपाथमा  पसल राख्दा दुर्घटनाको जोखिम बढेको छ ।

पूर्व–पश्चिम राजमार्ग तथा चन्द्रनिगाहपुर गौर सडक खण्डको अधिक भीडभाड रहने स्थानमा पसल राखिएको हो । बजार तथा बसपार्क क्षेत्रको सडकमा पसल हुँदा बस, रिक्सा तथा म्याजिक लगायतका सवारी आवतजावतमा कठिनाइ भएको छ ।

सडक किनारमा यात्रु चढ्न वा ओराल्ने स्थान नजिकमा नै फुटपाथ पसल सञ्चालनमा आउँदा समस्या भएको बसका चालकहरु बताउने गरेका छन् । यात्रु प्रतिक्षालयको रुपमा रहेको यस स्थानमा ठेला वा फुटपाथमा व्यवसाय सञ्चालन हुँदा गाडी रोक्ने वा गुडाउने बेलामा समस्या हुने गरेको उनीहरुको गुनासो छ ।

चन्द्रनिगाहपुर अहिले सुन्तलाको व्यापारका लागि फलफुल पसले सडक नै अतिक्रमण गरी सञ्चालन गर्ने गरेको पाइन्छ । यसले पैदलयात्रीलाई समेत आवतजावतमा समस्या भएको चन्द्रपुरका स्थानिय सरोज मिश्राले बताए । उनका अनुसार फुटपाथमा पसल तथा व्यवसाय बन्द गर्नुपर्दछ ।

फुटपाथ व्यवसायका कारण सडक साघुँरो हुने र दुर्घटनाको जोखिम बढ्ने उनको भनाइ छ । चन्द्रनिगाहपुर चोक फुटपाथ व्यवसायका कारण अस्तव्यस्त बनेकाले यसतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनको माग छ । चन्द्रनिगाहपुर गौर सडकखण्डको नेपाल बैंक अगाडि निर्माणाधिन सडकमै फलफूलको पसल राखिएको छ ।

एकातिर सडक निर्माण अर्कोतिर यात्रुको भीडभाड हुने ठाँउमा ठेलामा पसल राख्दा दुर्घटनाको जोखिम बढेको ब्यापारीहरुको गुनासो छ । व्यापारीले मनलाग्दी किसिमले जथाभावी सडकका किनारमा पसल राख्ने गरेकाले व्यवसायमा समेत असर परेको व्यापारीहरु बताउँछन् ।

चन्द्रनिगाहपुरको तल्लो बजारमा समेत हाट बजार लागेको दिन वा अन्य दिन फूटपाथमा नै व्यापार हुने गरेको यहाँका स्थानीयहरु बताँउछन् । चन्द्रनिगाहपुर मुख्य चोकको सडक उत्तरतर्फ आधा दर्जन बढी फलफुल पसल कालोपत्रे सडक किनारमै राखिएको छ ।

सडक किनारको फुटपाथमा पसल व्यवसाय नगर्न नगरपालिकाले यसअघि सचेत समेत गराएको थियो । फुटपाथमा पसले उतm आग्रहलाई वेवास्ता गरि संचालन गरेको पाइन्छ ।

चन्द्रपुर नगरपालिका र सरोकार राख्ने निकायहरुले सडक किनारामा व्यवसाय गर्नेहरुलाई सुरक्षित स्थानमा व्यापार गर्ने वातावरण मिलाउनुपर्ने माग छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले सडक मै ठेला पसल राख्नेहरुलाई संभावित दुर्घटनाका बारेमा सचेत गराउनुपर्ने आवश्यक्ता देखिएको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ११ : ४४ बजे