Logo

राजनीति

राहुल गान्धीको यात्राको नाम परिवर्तन



काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धीको नेतृत्वमा जनवरी १४ देखि सुरु हुने मणिपुरदेखि मुम्बईसम्मको यात्राको नाम परिवर्तन गरिएको छ । अब यसलाई ‘भारत जोडो न्याय यात्रा’ नाम राखिएको छ ।

यात्रा अरुणाचल प्रदेशसहित १५ राज्य हुँदै जानेछ । दिल्लीस्थित कांग्रेस मुख्यालयमा पार्टी प्रमुख मल्लिकार्जुन खर्गेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यसमा पार्टी महासचिव, प्रदेश प्रभारी, प्रदेश इकाई प्रमुख र कांग्रेस विधायक दलका नेताहरुको उपस्थिति थियो । बैठकपछि कांग्रेस महासचिव जयराम रमेशले ‘भारत न्याय यात्रा’ को ठाउँमा ‘भारत जोडो न्याय यात्रा राखिएको जानकारी दिए ।

जयराम रमेशले कांग्रेसले सबै भारतीय नेताहरूलाई यो यात्रामा सहभागी हुन आमन्त्रित गरेको बताउँदै सहभागी हुनका लागि औपचारिक निमन्त्रणा पठाउने बताए ।

उनले ६ हजार ७ सय १३ किलोमिटरभन्दा बढीको यात्रा बस र पैदल गर्ने बताए । यात्राले १ सय १० जिल्ला, लगभग १ सय लोकसभा सीट र ३ सय ३७ विधानसभा क्षेत्रहरू छिचोल्ने जनाइएको छ । नेता गान्धीले यसअघि कन्याकुमारीदेखि कश्मीरसम्मको भारत जोडो यात्रा गरेका थिए । अबको यात्रा पनि पहिलेको जत्तिकै राजनीतिमा परिवर्तनकारी साबित हुने दाबी उनले गरेका छन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ६ : ३७ बजे