Logo

मुख्य समाचार

पर्यटन बोर्डको औचित्यमाथि सांसदहरुले उठाए प्रश्न



काठमाडौं । सांसदहरुले नेपाल पर्यटन बोर्डले तय गरेको वार्षिक कार्यक्रमको प्रस्तावप्रति सन्तुष्ट नभएको बताएका छन् । बोर्ड स्थापनाको उद्देश्यमाथि नै सांसदहरुले प्रश्न उठाएका छन् ।

बोर्डको वार्षिक कार्यक्रमसँगै हालका कामका सम्बन्धमा छलफल गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बिहीबार राखेको बैठकमा अधिकांश सदस्यले कामकारवाही सन्तोषजनक नभएको टिप्पणी गरे ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीको कार्ययोजना प्रस्तुतिप्रति उनीहरुले प्रश्न उठाए । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा बोर्डले गर्दै आएको काम उत्साहजनक नभएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरे ।

समिति सदस्य प्रभु साहले काम प्रभावकारी नभएको उल्लेख गर्दै पर्यटन बोर्डमा सरकारको लगानी खेर जाँदा नेपाली जनतालाई घाटा भइरहेको बताए । 

‘हामी साँच्चै जान्न चाहान्छौं नेपालमा जुन पर्यटनहरु आइरहेका छन् यसमा नियमित पर्यटक कति हो ? पर्यटन बोर्डको आफ्नो योजनाको प्रभावमा तपार्इंहरुको पहलबाट कति प्रतिशत पर्यटक बढाउनुभयो ? तपाईंहरुको आफ्नो दाबी केही छ ?,’ उनले भने, ‘मानौं १० लाख पर्यटक नेपाल आए भने नियमित पर्यटक यति हो । यति आउँछन् र पर्यटन बोर्डको कारणले यति प्रतिशत पर्यटक बढायौं भन्ने कुरा हाम्रो खर्च र त्यसको इफेक्टको आधारमा मिल्छ कि मिल्दैन । मलाई लाग्छ हामीले पर्यटन बोर्डमार्फत खर्च जति गरिरहेका छौं त्यो देशलाई घाटै छ ।’ आफ्नो आरोपको खण्डन गर्न उनले चुनौती दिए ।

उनले पर्यटन बोर्डले आगामी एक वर्षको लागि समितिमा प्रस्ताव गरेको कार्ययोजनाप्रति पनि असन्तुष्टि जनाए । ‘हाम्रा कानूनी सीमा, योजनाको सीमा, हाम्रा नियतको सीमामा कहीँ न कहीँ ठूलो ग्याप देखिन्छ,’ उनले थपे, ‘जुन कार्यक्रम चलिरहेको छ कहीँ पनि मेल खादैन । त्यसैले कम्तिमा हाम्रो नीतिगत पोजिसन के छ, संरचनागत स्थिति के छ र हाम्रो कार्यक्रमहरु कसरी बनिरहेको छ त्यो समग्र कोणबाट यहाँ प्रस्तुति आएको भए सायद हामी केही सहयोग गर्न सक्थ्यौं ।’

उनले बोर्डका प्रमुख कार्यकारी अधिकृतको प्रस्तुतिमाथि प्रश्न गरे । ‘सीइओ साबले जसरी राख्नुभयो मलाई आश्चर्य लाग्छ, पर्यटन बोर्डको प्रमुखले यसरी एकांकी हुने, मनोगत हुने छुट कहाँबाट आयो ? उहाँले त आगामी योजनाको जुन प्रपोजल राख्नुभयो त्यो आफैंमा एकांकी, पूर्वाग्राही, साम्प्रदायिक र मनोगत छ । त्यसरी पर्यटनको विकास हुँदैन,’ साहले भने ।

यस्तै, अर्का सदस्य एकनाथ ढकालले हाल १० लाख पर्यटक नेपाल आउँदा लुम्बिनीमा जाने पर्यटक त्यसको ७ प्रतिशत मात्रै भएको उदाहरण दिँदै पर्यटन प्रवद्र्धनमा प्राथमितामा दिनुपर्नेमा कमजोरी भएको आशंका व्यक्त गरे । उनले बोर्डलाई प्रविधिमैत्री बनाउन पनि सुझाए ।

सांसद उदय शमशेर जवराले बोर्डले पर्वतीय पर्यटनको विकास गर्नुपर्नेमा जोड दिदै ट्रेकिङ रुट निर्माण गर्दा स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने बताए । उनले बोर्डको उद्देश्य माथि नै प्रश्न गरे । ‘पर्यटन बोर्डको उद्देश्य के हो ? हामीहरु अलिकति उद्देश्य बाहिर गएका छौं कि छैन भन्ने कुरामा पनि ध्यान दिनुप¥यो । तपाईंहरुले बजेटको ६० प्रतिशत रकम विदेशमा टुरिजम प्रमोट गर्नुपर्छ, त्यो खर्च भएको छ कि छैन ?’ उनले प्रश्न गरे ।

पर्यटन बोर्डले कार्ययोजना बनाउँदा मुलुकको अवस्था र धरातलीय यथार्थअनुरुप हुन नसकेको सदस्यहरुको टिप्पणी थियो ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ६ : ३२ बजे