Logo

समाचार

घुस लिएको आरोपमा बर्दियाका सई पवन साउदविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।

बढैयाताल गाउँपालिका ६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत साउदले लागू औषधको मुद्दा मिलाइदिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत मागेको भन्दै उनीविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।

अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले साउदलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पुस १२ गते नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘साउदले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) (ख) मा उल्लेखित कसुर गरेको भन्दै ३० हजार रुपैयाँ नै बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) (ख) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको माग दाबी लिइ विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ४ : १३ बजे