Logo

समाचार

स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित पक्राउ



विराटनगर । सुनसरीको एक गाउँबाट स्रोत नखुलेको लाखौं रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २१ लाख ५७ हजार रुपैयाँसहित भोक्राहानरसिंह गाउँपालिका–६ बाट २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो । उनी सुनसरीकै कोशी गाउँपालिका–३ निवासी भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतका अनुसार उनले बोकेको रकमको स्रोत नखुलेको पाइएको छ ।

मोटरमाइकलमा सवार राउतलाई शंका लागेर जाँच गर्दा उक्त रकम फेला परेको थियो । सोधखोज गर्दा उनले रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ प्रहरीले जनाएको छ ।

रकमसहित राउतलाई अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।

मोरङ र सुनसरीका विभिन्न स्थानबाट स्रोत नखुलेको ठूलो परिमाण रकमसहित केही सातायता पक्राउ पर्ने क्रम बढेको छ ।

त्यस्तो रकम हुण्डी कारोबारमा संलग्न हुनेहरुले ओसारपसार गर्न लगाएको पाइएको छ ।

हुण्डी कारोबारीहरुले यसअघि विराटनगरमा एकजना बालकलाई समेत रकम ओसारपसारमा प्रयोग गरेको भेटिएको थियो ।

सुनसरीमा पकाउ परेका राउत हुण्डी कारोबारी हुन् होइनन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  १२ : ५३ बजे