काठमाडौं । राजधानीका लागि बालाजु औद्योगिक क्षेत्रमा बारुणयन्त्र शाखा कार्यालय भवन निर्माण हुने भएको छ । भवनको बुधबार विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा, वडा नं. १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनसहित समितिका सदस्यहरुले शिलान्यास गरेका छन् ।
गत वर्ष मंसिर २६ गते २८ औं महानगर दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले उद्योग व्यवस्थापन कार्यालय परिसरमा दमकल सेवा शुभारम्भ गरेका थिए । यही कार्यालय परिसरमा भवन शिलान्यास गरिएको हो । भवनको निर्माणको ठेक्का ४ करोड ३० लाख ९० हजार रुपैयाँमा सबिरा मंगलुग्मा जेभीले जिम्मा पाएको छ । ‘महानगरपालिका क्षेत्रभित्रका विपद्जन्य जोखिममध्ये आगोबाट हुने जनधनको क्षति ठूलो छ ।
यसलाई व्यवस्थापन गर्न महानगरपालिकाले बारुण यन्त्र कार्यालयलाई विस्तार गरेर सेवा क्षेत्र विस्तार गरेको हो,’ विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भने, ‘यसअघि वडा नं. ६ को रामहिटीमा भवन निर्माण भइसकेको छ । अहिले बालाजुमा निर्माण कार्यको थालनी ग¥यौँ । यो सेवा विस्तारित हुने चरणमा छ ।’ महानगरपालिकाले योजनाबद्ध रुपमा जोखिम न्यूनीकरण र व्यवस्थापनको काम गरिरहेको उनले बताए ।
भवन डिजाइन इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले गरेका छन् । उनका अनुसार भूकम्प प्रतिरोधी निर्माण शैली र विधि अबलम्बन गरेर बनाइने भवन, अगाडि सडकबाट ३ तला देखिनेछ । पछाडिबाट ५ तलाको हुनेछ । ६ हजार ६६५.९० वर्गफुट क्षेत्रफलमा निर्माण हुने भवनको जमिन तला १ हजार ३३२ वर्गफुटको हुनेछ । भवनबाट तत्काल बाहिर निस्कन सक्ने गरी ठूला २ वटा दमकल र एउटा पानीको ट््यांकर राख्ने ठाउँ हुनेछ ।
जमिन मुनि र माथि छतमा गरि एक लाख लिटरको पानी ट््यांकी रहने छन् । भवनको माथिल्लो तलामा विपद ब्यबस्थापन र सुरक्षाका लागि खटिने जनशक्तिका लागि खेल्ने, योग गर्ने, जिम गर्ने इनडोर स्पोर्टस हल हुनेछ । पहिलो र दोस्रो तलामा सुरक्षाकर्मीहरुका लागि आवास सहितको बस्ने कोठा, भान्छा कोठा र आधुनिक शौचालय हुनेछ । जमिन तलामा दमकल मर्मत कक्ष र सुरक्षा सम्बन्धि सरसामान राख्ने कोठा हुनेछन् ।
प्रतिक्रिया