Logo

Breaking News 1

पहिचानवादी समूहद्वारा मेची राजमार्ग बन्द



काठमाडौं । कोशी नामकरणको विरुद्ध आन्दोलन गरिरहेका पहिचानवादी समूहले मेची राजमार्गमा सवारी साधन आवतजावतमा रोक लगाएका छन् । ‘प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले बन्दका क्रममा पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै मेची राजमार्गमा यातायात सेवा अवरुद्ध पारेको हो ।

संघर्ष समितिले ‘बुलेट किराती’ (अन्जेश राई) को रिहाईको माग गर्दै मंगलबार(हिजो) र बुधबार(आज) मेची राजमार्ग बन्दको आह्वान गरेको जनाएको छ । संघर्ष समितिले आह्वान गरेको मेची राजमार्ग बन्दका कारण झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ जाने सार्वजनिक यातायातका सवारी साधन चलेका छैनन् ।

तर निजी तथा साना सवारीहरु संचालन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
सो स्थानमा आन्दोलनकारीहरु बिहानै सडकमा निस्किएर टायर बालेर सवारीसाधन बन्द गराउँदै हिँडेका छन् ।
सवारी साधन नचल्दा यात्रुहरु प्रभावित बनेका छन् ।

किरातीलाई गत पुष १ गते संघर्ष समितिले आह्वान गरेको यातायात बन्दका क्रममा इलामको मेची राजमार्गको जोर कलश खण्डमा पराल बोकेको पिकअप गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आगजनी सम्बन्धी मुद्दा दर्ता गरिएको उनलाई मंगलबार अदालतमा उपस्थित गराएको जनाइएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १ : २१ बजे