Logo

Breaking News 1

नीति निर्माणमा तथ्यांकको प्रयोग महत्वपूर्णः मुख्य सचिव अर्याल



काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले तथ्यांकको प्रयोग नीति निर्माणका क्रममा महत्वपूर्ण हुने बताएका छन् ।

काठमाडौंमा आयोजित तथ्यांक दिवस कार्यक्रम २०८० का अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘तथ्यांकको प्रयोग कसरी गर्छौं भन्ने मुख्य कुरा हो । तथ्यांकलाई नीति निर्माणमा कसरी प्रयोग गछौं भन्ने कुरा अझ महत्वपूर्ण हो’ अर्यालले भने, ‘हामीले बेला बेलामा तथ्यांकमा आधारित नीति बनाउँछौं भनेर भनिरह्यौं तर त्यस्तो भएन । प्रमाण त हामीसँग यहाँ पर्याप्त छ तर हामी त्यसमा आधारित रहेर कति नीति बनाउँछौं भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’

विगतमा जिल्लागत तथ्यांक निकालेर काम गरिरहेको भन्दै उनले संघीयतामा गइसकेपछि स्थानीय तहगत तथ्यांक आवश्यक हुने बताए ।

तथ्यांकको सही प्रयोग गर्न जान्दा नीति र नियमहरु पनि प्रभावकारी हुने अर्यालले बताए ।

‘२०७८ मा गरेको जनगणनाको पूर्ण प्रतिवेदन अझै प्रकाशित गर्न सकेका छैनौं । तर, त्यो प्रतिवेदन सार्वजनिक नहुँदै प्रत्येक स्थानीय तहले आफ्नो पालिकाको प्रोफाइल बनाएका छन् । त्यसरी प्रोफइल बनाउँदा २०७८ सालमा निकालिएको तथ्यांकभन्दा त्यो डाटा फरक भइसक्यो । कतिपय कुरामा समन्वय भएन’ उनले भने ।

 तथ्यांक नियमावली अन्तिम चरणमा रहेको जानकारी दिंदै उनले त्यसले काम गर्न सजिलो हुने बताए ।

‘धेरै कामहरु भएका छन्’ मुख्यसचिव अर्यालले भने, ‘धेरै गर्न बाँकी छन् ।  तथ्यांकलाई भरपर्दो बनाउन अझै सबैजनाले लाग्नुपर्ने देखिन्छ ।’

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  २ : ४८ बजे