Logo

Breaking News 1

माओवादी केन्द्रको जनतासँग माओवादी अभियान आज सकिँदै



काठमाडौँ । संगठन शशक्तिकरणका लागि सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ आज सकिँदैछ ।

गएको भदौ १६ गतेदेखि चार महिनासम्म सञ्चालन भएको अभियानअन्तर्गत माओवादी केन्द्रले सातै प्रदेशका ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडासम्म अभियान सञ्चालन गरेको हो । सोमबार चार महिनासम्म चलेको अभियानको समीक्षा गर्दै अभियानको समापन गर्ने कार्यक्रम रहेको महासचिव देवप्रसाद गुरूङले जानकारी दिए ।

उनका अनुसार आज अभियानको अन्तिम दिन सम्बन्धित कमिटीहरूले बैठक, भेला बोलाउने र अभियानको समीक्षा गर्नेछन् । माओवादीको साउनमा बसेको बैठकले तीन महिनासम्म मात्रै अभियान सञ्चालन गर्ने योजना बनाएपनि मंसिर १६ मा जनताको समर्थन रहेको भन्दै थप एक महिना लम्ब्याउने निर्णय गरेको थियो ।

अभियानअन्तर्गत पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल नै स्थानीय तह र वडास्तरका कार्यक्रममा समेत सहभागी भएर सम्बोधन गरेका थिए ।

अभियानको अवधिमा पार्टीका सबै तहका कमिटीको बैठक, प्रशिक्षण र भेला लगायतका गतिविधि भएका छन् भने जिल्ला र पालिकास्तरमा पार्टीका नेताहरू खटिएर संगठनमा जागरण भर्ने काम गरेका छन् । पार्टीले एक पालिकामा कम्तिमा एक जना नेता खटाउने निर्णय नै गरेको थियो । देशभर माओवादीका ७ लाख ५२ हजार ९५६ जना सदस्य रहेका छन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : २४ बजे