Logo

Breaking News 1

‘तमु ल्होसार’ जस्ता पर्वको विविधतामा एकता कायम गर्न महत्वपूर्ण भूमिका : अध्यक्ष तिमिल्सिना



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ‘तमु ल्होसार’ जस्ता पर्वहरु राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै यस्ता पर्वले विविधतामा एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

आज गुरुङ समुदायको नयाँ वर्ष एवं महान् पर्व ‘तमु ल्होसार–२०८०’ को अवसरमा शुभकामना दिँदै अध्यक्ष तिमिल्सिनाले पर्वले सामाजिक सद्‍भाव अभिवृद्धि गर्नमा योगदान पु¥याएको बताएका हुन् । यस्ता पर्वले नेपालभित्र र नेपालबाहिर समेत नेपालीको मौलिक पहिचान तथा संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय एकता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको अध्यक्ष तिमिल्सिनाको बुझाई छ ।

उनले भनेका छन्, ‘यी र यस्ता अन्य पर्वहरुले नेपालको विविधतामा एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। यस्ता अमूल्य निधिहरुलाई नेपालको आर्थिक–सामाजिक रुपान्तरणमा उपयोग गर्नु आजको आवश्यकता हो। मुलुकभित्र रहेका यस्ता विविधता हाम्रो विकास र समृद्धिका लागि अवसर पनि हुन्। तसर्थ, मौलिक चाडपर्व र परम्पराको संरक्षण गर्नु हाम्रो कर्तव्य हो।’

‘तमु ल्होसार–२०८०’ को अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतले पनि शुभकामना दिएका छन् ।

कांग्रेस सभापति देउवाले शुभकामना सन्देश जारी गर्दै ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको तथा समाजमा सद्भावना बढाउदै आएको बताएका छन ।

यस्तै,एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालबाट ल्होसारको सबैलाई शुभकामना दिएका छन् ।

गुरुङ समुदायले पूरानो वर्षलाई विदा गर्दै नयाँ वर्षको रूपमा विभिन्न कार्यक्रम गरी तमु ल्होसार मनाउने गर्दछन्। पर्वको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ९ : १० बजे