Logo

Breaking News 1

अमेरिकी पर्यटकलाई चिनियाँ भिसामा सहुलियत



काठमाडौं । चीनले जनवरी १ तारिखदेखि अमेरिकी पर्यटकको भिसा आवेदनलाई सरल बनाउने भएको छ । वासिङ्टनस्थित चिनियाँ दूतावासले अमेरिकी पर्यटकको भिसा आवेदनलाई सरल बनाइने र आवश्यक कागजातहरू घटाइने जनाएको छ । चीनको तर्फबाट यो नरमपन गत महिनाको नोभेम्बरमा राष्ट्रपति सी जिनपिङले अमेरिकाको भ्रमण गरेको बेला देखिएको थियो ।

चिनियाँ दूतावासले जारी गरेको सूचनामा पर्यटन पुनरुत्थान र कोरोना महामारीको मन्दीपछिको विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई प्रवद्र्धन गर्न यो कदम चालिएको उल्लेख छ । अमेरिकी पर्यटक भिसा आवेदकहरूले अब हवाई टिकट वा होटल बुकिङ वा निमन्त्रणा पत्र बुझाउन नपर्ने सूचनामा भनिएको छ ।

चीनले यसअघि फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका राहदानी वाहकहरूलाई डिसेम्बर १ गतेदेखि भिसा बिना नै देशमा जानको लागि बाटो खुला गरेको थियो । भिसा फ्री यात्राको छुट एक वर्षसम्म रहनेछ । जसमा यी ६ देशका पर्यटकले पन्ध्र दिनसम्म चीनमा बस्न पाउनेछन् ।

चीनले नोभेम्बरमा आफ्नो भिसामुक्त पारवहन नीति ५४ देशमा विस्तार गरेको छ । चीनको कडा कोभिड नियन्त्रण नीतिका कारण महामारीको समयमा चीन भ्रमण गर्ने पर्यटकको संख्या घटेको छ । बेइजिङले एक वर्षअघि मात्र कोभिड प्रतिबन्ध हटाएको थियो, त्यसपछि चीनको अन्तर्राष्ट्रिय उडानहरू बढेको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : २४ बजे