Logo

Breaking News 1

सकियो कांग्रेस बैठक- राष्ट्रिय सभामा उम्मेदवार छान्दा अवसर नपाएकालाई प्राथमिकता दिने



काठमाडौँ । नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छनोट गर्दा अहिलेसम्म अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकता दिने निणर्य गरेको छ ।

शनिबार राति सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टीमा लामो समयसम्म योगदान पुर्याएका, तर अवसर नपाएका नेताहरूलाई प्राथमकितामा राखेर उम्मेदवार छनोट गर्ने निणर्य गरेको हो ।

बैठकमा सदस्यहरूले पटक-पटक अवसर पाएका नेताहरूले नै राष्ट्रिय सभामा दाबी गरिरहेको भन्दै यसपटक नयाँ अनुहारलाई अवसर दिनुपर्ने विषय महत्वका साथ उठाएका थिए । बैठकले पार्टीमा लामो समयसम्म योगदान गरेर पनि अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निणर्य गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उम्मेदवार छनोट गर्दा लामो समयसम्म योगदान गरेका, तर अहिलेसम्म कुनै पनि अवसर नपाएकाहरूलाई प्राथमिकतामा राख्ने भन्ने निणर्य भएको छ । साथै, भुगोल, क्षेत्र र समुदायलाई पनि समेटेर समावेशीरुपमा उम्मेदवार चयन गरिनेछ, प्रचार विभागका प्रमुख विश्वकर्माले भने ।

बैठकले आगामी माघ ७ देखि २२ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने निणर्य गरेको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषयमा समेत सरकारलाई ध्यानाकर्षण गराउने निणर्य भएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

कांग्रेसले बैठकका निणर्यहरू सार्वजनिक गर्न आइतबार दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन बोलाएको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ६ : ५८ बजे