Logo

Breaking News 1

प्रधानमन्त्री कप : प्लेअफ पुगेको एपीएफको वाग्मतीमाथि सानदार जित



काठमाडौं । प्रधानमन्त्री कप महिला टी २० क्रिकेटमा एपीएफले शीर्ष स्थनमा रहेर पहिलो प्लेअफ खेल्ने भएको छ ।

राजधानीमा जारी प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा वाग्मती प्रदेशलाई ४७ रनले पराजित गरेको छ । मूलपानी मैदानमा एपीएफले निर्धारित ओभरमा ३ विकेट गुमाएर १२६ रन बनाएको थियो ।

एपीएफका लागि कप्तान सीता रानामगरले ५० बलमा ४४ रनको योगदान दिइन्। उनले ४ चौका प्रहार गरेकी थिइन् । यस्तै, इन्दू वर्माले २२ बलमा २८ रन बनाउँदा ३ चौका प्रहार गरेकी थिइन् । रोमा थापाले १९ बलमा १९ रन नटआउट बनाउँदा ममता चौधरीले ९ बलमा १२ रनको नटआउट पारि खेलिन् । ओपनर ज्योती पाण्डेले २१ बल फेस गर्दा १३ रन जोडिन् ।

वाग्मतीका लागि संस्कृति फुयाँल, मनिषा उपाध्याय र सेविका यादवले एक एक विकेट लिए । जवाफी लक्ष्यसहित मैदान उत्रिएको बागमति प्रदेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर ७९ रनमात्रै बनाउँदा ४७ रनको हार व्यहोर्न पुग्यो ।

वाग्मतीका लागि सोनी पाख्रीनले ३९ बलमा २० रन बनाउँदा यसु पाण्डेले १८ बलमा १७ रनको पारि खेलिन् । अन्य खेलाडीहरुमा खुसी डंगोल १० रन तथा संस्कृति फुयाँला २ रनमा नटआउट रहँदा कञ्चन श्रेष्ठले ८, यसोदा विष्टले ५ र हेलिसा गुरुङले २ रन बनाए । कप्तान अस्मिना कर्माचार्य र सेविका यादव एक एक रनमा आउट भए ।

एपीएफका लागि सुमन विष्टले २ विकेट लिँदा सोनु खड्का, करुणा भण्डारी, नेरी थापा र सीता रानामगरले एक एक विकेट लिए । एपीएफको यो लगातार समूह चरणको सातौं खेल हो । जितसहित एपीएफ १४ अंकका साथ तालिकाको पहिलो स्थानमा रहेको छ । पराजित भए पनि वाग्मतीले अन्तिम चारमा स्थान भने पक्का गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १ : ०२ बजे