Logo

अर्थ

रोगले अदुवा सखाप 



इलाम । इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन् । रोगले अदुवाका बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन् । अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो । तर रोगका कारण किसानले अदुवा खेती गर्न छोड्दै गएका माइजोगमाई गाउँपालिका–३ का किसान मिलन खड्काले बताए ।

अन्यत्रबाट बीउ ल्याएर खेती गरे रोगबाट मुक्ती पाउन सकिने अधिकारीको भनाइ छ । मसला र ओषधिजन्य प्रयोगका लागि भारतमा निर्यात भइरहेको अदुवा किसानले ठाउँ र बीउ फेरेर रोप्दा पनि उम्रने वित्तिक्कै मर्न थालेपछि किसानले वैकल्पिकरुपमा एभोकाडो, ड्रागनलगायतको खेती गर्न थालेका छन् ।

उत्पादन घटेपछि अदुवा व्यापारी वैकल्पिक उपाय खोज्न थालेका व्यापारी जीवन पोखरेल बताउँछन् । उनी अदुवाको कारोबार छोडेर तीन वर्षयता कुचो र अलैँचीको व्यापारमा लागेका छन् । चार नगरपालिका र छ गाउँपालिका भएको इलामका प्रायःजसो सबै ठाउँमा अदुवा खेती गरिँदै आएको छ । रोगका कारण पछिल्लो समय यसप्रति किसानको आकर्षण घटेको छ । स्थानीय, प्रदेश र संघीय सरकारले अदुवा किसानका समस्या पहिचान गरी समाधानको उपाय खोज्न आवश्यक छ । प्रोत्साहनस्वरुप आवश्यक अनुदान उपलब्ध गराउन पनि किसानले माग गरेका छन् ।

खाद्यान्न बाली मासेर अदुवा खेती गरेका किसान रोगले सखाप पारेपछि चिन्तित भएका छन् । इलाममा अदुवाको उत्पादन, उत्पादकत्व र क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाको भनाइ छ । गत वर्ष ५० हजार ९५५ मेट्रिक टन अदुवा उत्पादन भएको इलाममा यस वर्ष ५० हजार ६२० मेट्रिक टन मात्र उत्पादन भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ११ : २१ बजे