Logo

Breaking News 1

संघीय गणतन्त्र तस्करतन्त्रमा परिणतः अध्यक्ष थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अहिले संघीय गणतन्त्र भ्रष्टतन्त्र र तस्करतन्त्रमा परिणत भएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित राप्रपा नेपालको मध्यमाञ्चल स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

लोकतन्त्रको आवरणमा अहिले केही राजनीतिक दलहरुको सिन्डीकेटतन्त्र कायम भएको भन्दै थापाले संघीय गणतन्त्र भ्रष्टतन्त्र र तस्करतन्त्रमा परिणत भएको बताए ।

उनले भने, ‘लोकतन्त्रको आवरणमा केही राजनीतिक दलहरुको सिन्डीकेटतन्त्र कायम भएको छ । प्रजातन्त्र बलियो हुनुको सट्टा सर्वसत्तावाद हावी भएको छ । संघीय गणतन्त्र भ्रष्टतन्त्र र तस्कर तन्त्रमा परिणत भएको छ । बिदेशी शक्तिहरुको चलखेल र प्रभाव तीव्र रुपले बढेको छ । नेपाल अन्तरराष्ट्रिय महाशक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनेको छ ।’

उनले संस्कृतिमन्त्री सुदन किरातीको क्रिष्चियन नमान्ने संविधानविरोधी हुन् भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, ‘एक सार्वजनिक कार्यक्रममा क्रिष्चियन नमान्ने संविधानविरोधी हुन् । देशद्रोही हुन् जेलमा कोच्नुपर्छ भन्ने अत्यन्तै अपत्तिजनक अभिव्यक्ति जिम्मेवार मन्त्रीले दिनुभयो । योभन्दा आपत्तिजनक अरु के हुन सक्छ ?’ उनले भने, ‘९४ प्रतिशत सनातन धर्ममा आस्था राख्नेहरुको विरुद्धको यो षड्यन्त्र हो, अपमान हो । जसको पशुपतिनाथप्रति आस्था छैन, भावनात्मक लगाव छैन् । त्यस्तो व्यत्तिलाई किन त्यहाँको विकास र समृद्धिको जिम्मा दिएको ?’

अध्यक्ष थापाले सनातन धर्म, संस्कृति र परम्परामाथि योजनाबद्ध र संगठित रुपले आक्रमण भइरहेको टिप्पणी पनि गरे । धर्म परिवर्तनको डढेलोले देशलाई तहसनहस पारिरहेको उनको भनाई छ ।

उनले भने, ‘हाम्रो सनातन धर्म, संस्कृति र परम्परामाथि योजनाबद्ध र संगठित रुपले आक्रमण हुँदैछ । धर्म परिवर्तनको डढेलोले देशलाई तहसनहस पारिरहेको छ । सामाजिक, सांस्कृतिक  सद्भाव र एकता खल्बलिएको अवस्था छ ।’

उनले देशमा कायम रहेको संघीय धर्मनिरपेक्षता, गणतन्त्र असफल साबित भइसकेको दाबी गरे ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  १ : ५२ बजे