Logo

Breaking News 1

गठबन्धनको एकता देखेर विरोधी अत्तालिए : प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पाँचै वर्ष गठबन्धनलाई जोगाएर अझ धेरै विकासका काम गर्ने बताएका छन् ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बुधबार आयोजना गरेको ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक अन्तरक्रियामा उनले एकै वर्षमा आफू नेतृत्वको सरकारले रेकर्ड नै बनाएर जनअपेक्षाअनुसार राम्रा काम गरेको दाबी गरे ।

‘मेरो एक वर्षे कार्यकालमा केही रेकर्डहरू बनेका छन् । यो सरकारले नागरिकता समस्या, मिटरब्याजीको समस्या सम्बोधन गर्दै विदेशमा रहेका नागरिकताविहीन लाखौं युवाहरूलाई नागरिकता दिने काम भएको छ । उनीहरूलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गरिएको छ । एक वर्षमा यति काम भए भने बाँकी ४ वर्षमा त झनै धेरै राम्रा काम हुनेछन् ।’

राजनीतिक दलहरु बीचको एकता र सहकार्यले देशमा स्थायित्व ल्याएको दाहालको भनाइ छ । यसलाई बलियो बनाएर लैजाने प्रतिबद्धता दाहालको छ ।

‘यो गठबन्धनलाई कसरी तोड्ने होला ? यो परिवर्तनलाई कसरी उल्ट्याउने भनेर लागिपरेका छन् । जनतालाई नकारात्मक कुरा मात्र देखाएर भड्काउने काम भएको छ,’ उनले भने, ‘गठबन्धन झनै बलियो भएको छ । हाम्रो एकता देखेर विरोधीहरू अत्तालिएको अवस्था छ । यो गठबन्धन पाँच वर्ष जान्छ ।’

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ५ : २१ बजे