Logo

Breaking News 1

ज्येष्ठ नागरिकहरुको संरक्षणमा संवेदनशील बनौं : मन्त्री आचार्य



काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकहरुको संरक्षणमा राज्यका सबै निकायहरु संवेदनशील बन्न आवश्यक रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको कार्यक्रमलाई सम्बोधन गदैं उनले बसाइसराई वैदेशिक रोजगारी जस्ता कारणहरुले ज्येष्ठ नागरिकहरुको संरक्षणमा नयाँ चुनौतीहरु थपिदै गएको भन्दै उनले संरक्षणमा राज्यका सबै निकाय संवेदनशील बन्न आवश्यक रहेको बताए ।

उनले भने,‘जनसांख्यिक परिवर्तन, बसाइसराई वैदेशिक रोजगारी जस्ता कारणहरुले ज्येष्ठ नागरिकहरुको संरक्षणमा चुनौतीहरु थपिएका छन् । यस्ता चुनौतीहरुको सामना गर्न संवेदनशील बन्न आवश्यक छ ।’

ज्येष्ठ नागरिकबाट हस्तान्तरण हुने ज्ञान र अनुभवले युवा पुस्तालाई इतिहास, संस्कृति र सभ्यतालाई जोगाइराख्न ऊर्जा हुने उनले बताए ।

ज्येष्ठ नागरिकहरुलाई प्रदान गरिएका विभिन्न सुविधा र सहुलियतहरुको अवस्था अनुगमन गरी कार्यान्वयनको सुनिश्चितताका लागि मन्त्रालय सधैं प्रयत्नशील रहेको उनले बताए । अझ कार्यान्वयनउन्मुख बनाउन प्रभावकारी संयन्त्र परिचालन गर्ने समेत उनको भनाइ छ ।

ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चितताका लागि नेपाल सरकारले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरु सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा तथा सेवा सुविधामा प्राथमिकता छुट एवम् सहुलियत प्रदान गर्ने कार्य प्रभावकारी रहेको भनाइ उनले राखेका थिए ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ४ : ५९ बजे