काठमाडौं । दोलखा महोत्सव–२०८० को तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजक दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । महोत्सवमा ९९ लाख खर्च लाग्ने अनुमान गरेको आयोजकले ३ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ ।
‘दोलखा महोत्सवको दिव्यदृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि’ भन्ने मूल नाराका साथ १३ देखि २२ गते सम्म चल्ने १० दिने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने श्रेष्ठले जानकारी दिए ।
महोत्सव जिल्लालाई पर्यटन, कृषि, अन्नबाली र जलस्रोतमा अब्बल जिल्लाका रुपमा सिंगो राष्ट्र माझ उभ्याउदै आर्थिक विकासमा फड्को मार्ने खुट्कीलो बन्ने आयोजकको अपेक्षा छ । महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री वितरण तथा प्रबर्द्धन गर्ने गरी १ सय ५० वटा विभिन्न स्टल राखिनेछ । सबै स्टलहरुको बुकिङ सकिसकेको छ ।
महोत्सव उद्घाटनमा दोलखा जिल्लाका विभिन्न जातजाती, भाषाभाषीका कला संस्कृति समेटिएको झाँकी प्रर्दशन गरिने आयोजकले जनाएको छ । अंग्रेजी नयाँ बर्षको अघिल्लो दिन ‘न्यु ईयर ईभ’का रुपमा मनाउन चरिकोट बजार क्षेत्रमा ‘स्ट्रिट फुड फेस्टिभल’ आयोजना गर्ने तयारी आयोजकको छ ।
फेस्टिभलको नारा ’सडकमै खाउँ, सडकमै नाचौँ, सडकमै रमाऔं’ राखिएको छ । महोत्सवमा दोलखा जिल्लाका पर्यटकीय स्थलहरुको फोटो र वृत्तचित्र प्रर्दशनी गरिने आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती, चरिकोट टुँडिखेल देखी भ्यूटावर हुँदै देउराली सम्म घोडचडी, विद्यालय स्तरीय विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिने छ ।
अध्यक्ष श्रेष्ठले अंग्रेजी नयाँ वर्षको अवसर पारेर दोलखामा आन्तिरिक पर्यटकलाई बढी भन्दा बढी ल्याउन चाहेको बताए ‘हामीले विशेषगरी नयाँ वर्षमा दोलखामा नेपालभरिका पर्यटक भित्र्याउन चाहान्छौं । काँही न काहीँ विदा छ, फुर्सद छ, मानिसहरुको घुम्न जाने टे«ण्ड छ, यो बेलामा हामी बाहिरको जतिसक्दो धेरै पर्यटकलाई दोलखामा भित्र्याउन सक्छौँ । भोलि दोलखाको मुख्य आर्थिक स्रोत नै पर्यटन भएकाले पर्यटन उद्योगमा बढावा दिन विदाको समय पारेर महोत्सव गर्न लागेका हौं,’ अध्यक्ष श्रेष्ठले भने ।
श्रेष्ठले महोत्सवको समयभर दोलखा जाने पर्यटकका लागि चरिकोटको होटलहरुमा हाल लागू भएको मूल्य भन्दा २० प्रतिशत कम गर्न लगाएको बताएका छन् । महोत्सव हेर्न जानेले ६० रुपैयाँ शुल्क तिर्नुपर्ने जनाएको आयोजकले विद्यार्थीलाई ३० रुपैयाँ र वृद्धवृद्धा, बालबालिका एवं अपांगता भएका व्यक्तिहरुलाई निशुल्क इन्ट्रि व्यवस्था गरेको जनाएको छ ।
प्रतिक्रिया