Logo

खेलकुद

फारवेष्ट पशुपति कप : प्रहरी र पुनर्वास युनाइटेड विजयी



धनगढी । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश र कञ्चनपुरको पुनर्वास युनाइटेड क्लबले एनआरएनए छैटौं फारवेष्ट पशुपति कप–२०८० फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको तेस्रो दिनका खेलमा जित हात पार्दै प्रहरी र पुर्नवासले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।

धनगढी रंगशालामा भएको पहिलो खेलमा प्रहरी कैलालीको ब्वाइज युनियन लम्कीलाई १–० ले हराउँदै अन्तिम आठमा पुगेको छ । प्रहरीको जितमा एक मात्रै गोल प्रदीप बोगटीले गरे । खेलको सुरुवातकै ८ मिनेटमा प्रदीपले गरेको गोल नै निर्णायक बन्यो । उनी खेलको म्यान अफ द म्याच समेत बने । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।

धनगढी रंगशालामा भएको दोस्रो खेलमा पुनर्वास युनाइटेड ग्रीन युथ क्लबलाई १–० ले हराउँदै अन्तिम आठमा पुगेको हो । पुनर्वासको जितमा विदेशी खेलाडी काइटेमोन गाइडेनले निर्णायक गोल गरे । उनले पहिलो हाफको २६ औं मिनेटमा गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका पुनर्वासका गोलरक्षक कुम्भ देउवा म्यान अफ द म्याच भए । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।

प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा वीएस १५ फुटबल एकेडेमी र सशस्त्र प्रहरी बल ७ नम्बर बाहिनी तथा दोस्रो खेलमा विदेशी टोली सीएफसी कोलकाता र सुदूरपश्चिम ११ स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्नेछन । पुस १४ गतेसम्म धनगढी रंगशालामा हुने प्रतियोगितामा १५ टीमको सहभागिता छ ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : २६ बजे