Logo

खेलकुद

कोशीले मधेश प्रदेशलाई दियो १३० रनको लक्ष्य



काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई जितका लागि एक सय ३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको कोशी प्रदेशले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय २९ रन बनाएको हो ।

कोशी प्रदेशका लागि ओपनर रुविना क्षेत्रीले ५७ रनको योगदान गरिन् । कप्तानको भूमिकामा समेत रहेकी उनले ६४ बलको सामना गरी नौ चौका पनि हिर्काइन् । तेस्रो नम्बरकी ब्याटर अप्सरी बेगमले पनि ३९ रन बनाइन् । उनले ४१ बलमा सात चौका प्रहार गरिन् ।

यसैगरी सबनम राईले टोलीको खातामा अविजित १६ रन थपिन् । आक्रामक रुपमा प्रस्तुत भएकी उनले केवल आठ बलमा दुई चौका हिर्काइन् । लकिता राजवंशीले ६ र नमिता श्रेष्ठले अविजित दुई रन बनाइन् । कोशीले अतिरिक्त रुपमा पनि नौ रन पायो ।

ओपनर काजल श्रेष्ठ भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएकी थिइन् । मधेश प्रदेशकी बलर मीना महतोले दुई विकेट लिइन् । पूजा महतो र सरस्वती कुमारीले पनि एक–एक विकेट हात पारे । मधेश प्रदेश यसअघि खेलेको दुबै खेलमा पराजित भएको थियो । कोशीले भने यसअघि आफूले खेलेको दुबै खेलमा जित हात पारेको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ११ : २० बजे