Logo

राजनीति

मन्त्री फेरेर भए पनि परिणाम दिनेगरी अगाडि बढ्छु : प्रधानमन्त्री प्रचण्ड



विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू फेरेर भए पनि परिणाम दिने गरी काम गर्ने बताएका छन् । मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भए पनि कामलाई गति दिने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले लाभाखोला बृहत् खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता पनि व्यक्त गरे । यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

मोरङको पथरी शनिश्चरेको सुकुम्वासीको समस्या समाधानमा पहल गर्ने, किसानले बिक्री गरेको दूधको मूल्य दुग्ध विकास संस्थालाई सहुलियत ऋण उपलब्ध गराउने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  २ : ५८ बजे