Logo

Breaking News 1

नेपालको अर्थतन्त्र सहायता नलिने अवस्थामा पुगेको छैनः खतिवडा



काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले नेपालको अर्थतन्त्र सहायता लिन्न भन्न सक्ने अवस्थामा नपुगेको टिप्पणी गरेका छन् ।

वैदेशिक सहायताको प्रभावकारितासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले अनुदान नलिने भन्ने अवस्थामा पुग्ने हो भने हाम्रो आन्तरिक राजस्व संरचना अलि बलियो बनाउनु पर्ने भन्दै त्यसका लागि अझै समय लाग्ने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगभर्नर समेत रहेका खतिवडाले भने, ‘सहायता सामाजिक, आर्थिक, धार्मिक र राजनीतिक प्रयोजनाका लागि पनि छन्, अब त्यसलाई छुट्याउन सक्नुपर्छ । सहायता लिन्न भन्न सक्ने अवस्थामा हामी पुगेका छैनौं । अब १०–१५ वर्ष निरन्तर हामीले ५–७ प्रतिशतको आर्थिक वृद्धि गर्ने हो भने अनुदानचाहिँ लिँदैनौ भन्ने अवस्थामा पुगौंला । अनुदान नलिने भन्ने अवस्थामा पुग्ने हो भने आन्तरिक राजस्व संरचना अलि बलियो भएर जानुपर्छ र त्यसका लागि आर्थिक वृद्धि चाहिन्छ ।’

विदेशी सहायतालाई निरपेक्षतामा नभइ सापेक्षतामा हेर्नुपर्ने भन्दै उनले सबै कुरा सधैँ नराम्रो पनि नहुने साथै सधैँ राम्रो पनि नहुने उल्लेख गरे ।

कुनै योजना आयो भने त्यसको प्रमुख म हुन्छु, त्यसका लागि एउटा गाडी चाहियो, ४ वटा विदेश भ्रमण राख्नैपर्यो भन्ने प्रवृत्ति रहेकाले यसको नकारात्मक असर पर्ने गरेको उनले बताए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १२ : ५३ बजे