काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको असर अहिलेसम्म नेपालमा फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतको केरला र नयाँदिल्लीमा नयाँ भेरियन्टबाट प्रभावित केही व्यक्ति फेला परेको समाचार प्रकाशमा आईरहेको तर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचेत रहेको प्रवक्ताले बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अहिले भारतमा फेला परेका व्यक्तिमा पनि घातक असर नपाईएको र नेपालमा कुनै असर भित्रिनसकेको बताए।
प्रवक्ता बुढाथोकीका अनुसार, यसअघिका कोभिड महामारीमा प्रयोग गरिएको खोप प्रभावकारी भएकाले नयाँ भेरियन्ट भित्रि नै हाले पनि तत्काल गम्भीर असर पर्ने छैन। तर मन्त्रालयले तालिम प्राप्त जनशक्ति, स्वास्थ्य साधन र सीमानाकामा हुने आवतजावतको दैनिक विवरण संकलन गरिरहेको छ।
‘१६ वटा सीमानाकामा रहेका हेल्थ डेस्कबाट दैनिक आवतजावत गर्ने मानिसहरुमा कुनै असर भएनभएको विवरण संकलन भैरहेको छ, प्रवक्ता बुढाथोकीले भने, ‘कोभिडका अघिल्ला महामारीमा काम गरेका तालिमप्राप्त जनशक्तिको अपडेट राखेका छौं, स्वास्थ्य सामग्री तयारी अवस्थामा छ र अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले पनि नियमित विवरण राख्ने गरेको छ।’
यतिबेला मन्त्रालयले कोभिडको नयाँ भेरियन्ट भित्रि नै हाले पनि तत्काल परिचालन हुनेगरी सबै तयारी अवस्थामा प्रवन्ध गरेको बुढाथोकीले बताए ।
प्रतिक्रिया