Logo

कोशी

‘१० वर्षपछि दलित लेख्ने अवस्थाको अन्त्य हुन्छ’



विराटनगर । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा १० वर्षपछि ‘दलित’ लेख्ने अवस्था अन्त्य हुने दाबी गरेका छन् । रिडेफ नेपालले आयोजना गरेको प्रदेशको नीति तथा योजनामा दलित सरोकार विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

विभेदरहित समाज निर्माणका लागि चालू आर्थिक वर्षबाट प्रदेश सरकारले सुरू गरेको मानवीय विकास अभियानले कोशी प्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्था नरहने उनले बताए ।

‘यसका लागि प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, प्रत्येक पालिकाका दुईजना विपन्नलाई कृषि र पशु प्राविधिक शिक्षालगायत मानवीय विकासको काम सुरू भइसकेको छ’ उनले भने, ‘बजेटमा अधिकार खोज्ने भन्दा समानता र विभेदरहित समाज निर्माणमा जानुपर्ने बेला आइसकेको छ ।’

मुख्यमन्त्री कार्कीले रैतिबाट नागरिक बनाउने क्रममा समावेशी अभियान सुरू भएर अहिले राज्यका हरेक अंगमा समावेशी बनाइएको तर अब समानताको विषयले १० वर्षपछि दलित भन्न नपाइने अवस्था बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

‘अब दलित र गैर दलित नभनौं, हामी सबै समानताको व्यवहार गरौं’ उनले भने ।

प्रदेश सरकारले विभेदरहित समाजको अभियानलाई गति दिइसकेको भन्दै मुख्यमन्त्री कार्कीले भने, ‘ब्राह्मण समाजमा नै सबभन्दा बढी विभेद छ किनकी जैशीले छोएको ब्राह्मणले खाँदैन । एउटा थरको कथित दलितले अर्काे थरका दलितले छोएको नखाने हाम्रो समाज छ ।’

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ११ : ३० बजे