Logo

खेलकुद

लिभरपुल इएफएल कपको सेमिफाइनलमा



काठमाडौं । इंग्लिस क्लब लिभरपुलले इएफएल कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । बुधबारराति अर्को इंग्लिस क्लब वेस्टह्याम युनाइटेडलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

लिभरपुल सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तिम चारमा पुग्ने सबै टिमको टुंगो लागेको छ । यसअघि चेल्सी, फुलह्याम र मिडिल्सवर्गले सेमिफाइनलमा स्थान बनाएका थिए । बुधबार राति वेस्टह्यामविरुद्ध लिभरपुललाई जित दिलाउन लिभरपुरका कुर्टिस जोन्सले २ गोल गर्दा डोमोनिक, म्याथेस गाकपो र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

वेस्टह्यामका जारोड बोविनले एक गोल फर्काए । २८ औं मिनेटमा डोमोनिकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको लिभरपुलले दोस्रो हाफमा ४ गोल थप्दा १ गोल ब्यहोरेको थियो । ५६ औं मिनेटमा कुर्टिसले गोल गर्दै अग्रता दोब्बर बनाए । गाकपोले ७१ औं मिनेटमा गोल गरेपछि लिभरपुल ३–० ले अघि बढेको थियो ।

७७ औं मिनेटमा वेस्टह्यामा जारोडले गोल फर्काउँदै अन्तर ३–१ बनाएका थिए । यसैगरी मोहमद सलाहले ८२ औं मिनेटमा गोल गरेपछि लिभरपुल ४–१ ले अघि बढेको थियो । ८४ औं मिनेटमा कुर्टिसले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गर्दै लिभरपुललाई शानदार जित दिलाए ।

अब इएफएल कपको सेमिफाइनल खेलको पहिलो लेग जनवरी ९ र दोस्रो लेग जनवरी २३ मा हुने छ । सेमिफाइनलमा चेल्सी र मिडिल्सवर्ग तथा लिभरपुल र फुलह्यामले खेल्ने छन् ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ८ : ३६ बजे