Logo

Breaking News 1

एनसेल छानविन समिति निष्पक्ष हुन्छ भन्ने सिध्द गर्न प्रधानमन्त्रीलाई चुनौति



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले एनसेल प्रकरणमा अध्ययन गर्न सरकारद्वारा गठित उच्चस्तरीय समितिमाथि प्रश्न गरेका छन् । उनले अध्ययन समितिको अध्यक्ष टंकमणि शर्मामाथि सार्वजनिक रुपमै प्रश्न उठेको भन्दै साँचो अर्थमा समिति निष्पक्ष रहेको स्थापित गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिले एनसेलको ८० प्रतिशत हिस्सेदार कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर न्यून मूल्यांकन गरी खरिदबिक्री गरिएको प्रकरणमा सरकारसँग छलफल गरेको छ । पन्त समितिका सदस्य हुन्।

छलफलमा प्रधानमन्त्री दाहालले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताएका छन् । उनले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गर्दै छानविन समितिले तयार पारेको प्रतिवेदन अनुसार आवश्यक परे कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

तर, सरकारद्वारा गठित अध्ययन समितिको सदस्यमाथि नै संसदीय समितिले भरोषा गर्न नसक्ने भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेको छ । समितिका सदस्य रघुजी पन्तले एनसेल प्रकरणमा सरकारमाथि नै आशंका व्यक्त गरे । उनले अध्ययन समितिको अध्यक्ष पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको भूमिकामाथि सार्वजनिक रुपमै प्रश्न उठेको उल्लेख गर्दै समितिनै विगठन गरी नयाँ गठन गनुपर्ने तर्क राखे ।

उनले सरकारले गठन गरेको छानविन समिति साँचो अर्थमा निष्पक्ष भएको पुष्टि गरेर देखाउनुपर्ने बताए ्।

पन्तले छानविन पश्चातको अवस्थालाई लिएर कारबाहीको लागि दूरसञ्चार प्राधिकरणले समितिलाई इन्स्योर गराउनुपर्ने उल्लेख गर्दै प्राधिकरणले गरेको तयारीबारे जवाफ मागे । सरकारले आफूलाई कानूनी रुपमा बालियो बनाउनुपर्नेमा पन्तले जोड दिदै एनसेल प्रकरणमा छानविन पारदर्शी हुने कुराको ग्यारेन्टी दिलाउन सरकारसँग जवाफ मागे ।

उक्त प्रकरणमा अध्ययन गर्न सरकारले मंसिर २१ गते पाँच सदस्यीय उच्चस्तरीय समितिमा गठन गरेको थियो । समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, हृदयेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले छन् ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १ : ५६ बजे