Logo

Breaking News 1

मेलम्ची खानेपानी सञ्चालनमा ल्याउन सरकारको चासो देखिएन : नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले अर्बौं रुपैयाँ खर्च गरेर बनाएको मेलम्ची खानेपानी आयोजनामा सञ्चालनमा सरकार गम्भीर नदेखिएको बताएका छन् ।

उनले सरकारले चाहेमा अस्थायीरूपमा भएपनि तत्कालै मर्मतसम्भार गरेर काठमाडौंलाई पानी खुवाउन सकिने अवस्था रहेको बताए ।

शुक्रबार मेलम्ची खानेपानी आयोजनाको मुहानसम्मै पुगेर स्थलगत अवलोकन गरेपछि सांसद पौडेलले आयोजना सञ्चालनमा सरकारको कम चासो देखिएको आरोप लगाएका हुन् ।

मेलम्चीको पानी कहिले आउँछ भनेर काठमाडौंले पर्खिरहेको छ । सरकारले आउँछ, बनाउँदैछौँ भनिरहेको छ । तर काठमाडौँबासीले पानी खान पाएका छैनन् । पहिले केही समय पानी पुगेको हो । अहिले लामो समयदेखि पानी खाने अवस्था बनेको छैन, सांसद पौडेलले न्यूज बैंकसँग भने, अहिले तत्काल अस्थायी समाधान गर्नकालागि गाह्रो देखिदैन । सुरूङमा बाढीले त्यस्तो धेरै फोहोर जम्मा गरेको अवस्था पनि होइन । थोरै प्रयास गर्दामात्रै पनि पानी लैजान सकिने अवस्था छ । अर्बौँ खर्च भइसकेको राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा सरकार थोरै गम्भीर हुनुपर्छ ।

काठमाडौं—५ बाट निर्वाचित सांसद पौडेलले काठमाडौंबासीलाई तत्कालै पानीको प्यास मेटाउने गरी आयोजनाको अघि बढाउन सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत ध्यानाकर्षण गराउने बताए ।

यहाँ सुरूङभित्रको फोहोर सफा गर्ने भन्दा पनि ठेकेदारले भुक्तानी नपाएको र त्यहीकारण काम हुन नसकेको स्थिति देखिएको छ । यसरी अरबौँ खर्च गरेर बनाएको योजनामा साना साना कुराले अल्झाउनुहुदैन, उनले भने, समस्या छ भनतेर छोडिराख्नु भएन । के समस्या हो ? कसरी समाधान गर्न सकिन्छ भनेर काम सुरू हुनुप¥यो ।

उनले सरकारले आयोजनालाई दिगो बनाउने विषयमा समेत ध्यान दिनुपर्ने माग गरे ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ९ : २४ बजे