Logo

खेलकुद

बकैया र पञ्चशिल युवा क्लब मकवानपुर जिल्ला लिगमा


२९ मंसिर २०८०, शुक्रबार  

69
Shares

मकवानपुर । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताका लागि बकैया युवा क्लब र पञ्चशिल युवा क्लब छनोट भएको छन् । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशाला जारी मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगिताको फाइनलमा दुवै टोली प्रवेश गरेसँगै जिल्ला लिगको लागि दुवै टोली छनोट भएका हुन् ।

छनोट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पञ्चशील युवा क्बलले जनहित युवा क्लबलाई ३ –० गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो । खेलमा पञ्चशील युवा क्लबका रोनिम मोक्तान, सुमन लोप्चन र राजन गोलेले समान १–१ गोल गरेका थिए ।

त्यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बकैया युवा क्लबले जनप्रवाह क्लबलाई उत्कृष्ट गोल अन्तरले हराएर जिल्ला लिगको लागि स्थान बनायो । बकैयाले जनप्रवाहमाथि १०–० गोलको फराकिलो अन्तरले जितेको थियो ।

बकैयाको जितमा खेलाडि सुरेन्द्र राईले ३, जेओङ लामा र सुजन गुरुङले समान २ गोल गर्दा अभिषेक ब्लोन, निशान गोले र आयुष नेगीले समान एक गोलको योगदान गरे ।

मकवानपुर जिल्ला फुटबल संघका सचिव सुनिल लोप्चनले जिल्ला लिग क्वालिफाईबाट फाइनलमा पुग्ने दुई टोली जिल्ला लिगमा छनोट हुने र जिल्ला लिगको पुछारमा हुने दुई वटा क्लव रेलिगेसनमा पर्ने जानकारी दिए । बकैया र पञ्चशिल क्लबले आगमी चैतमा हुने मकवानपुर जिल्ला लिग खेल्न पाउँने भएका छन् ।

जिल्ला लिग क्वालिफाईमा यी दुई टोलीको फाइनल प्रतिस्पर्धा भने भोलि(शनिबार) दिउँसो २ बजे हुनेछ ।

छनोटका लागि जिल्लाबाट १२ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेता तथा उपविजेत क्लबले शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट हुने र म्यान अफ द म्याच हुने खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजनले जनाएको छ ।

करिब ४ लाख ८५ हजार लागत अनुमान गरिएको प्रतियोगितामा बागमती प्रदेश खेलकुद परिषद् र नारायणी कलेज हेटौंडाले आर्थिक सहयोग गरेका छन् ।

२०७६ सालपछि एन्फा रेलिगेटेड लिग गर्नुपर्ने नियम लागू भएपछि मकवानपुरले लिग खेलाउन सुरु गरेको हो ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  २ : १९ बजे