Logo

खेलकुद

एनएसआरए एनिभरसरी कप स्क्वासः अरहन्त र अमिर फाइनलमा



काठमाडौं । अरहान्त केशर सिंह र अमिर ब्लोन बिहिबार एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको फाइनलमा पुगेका छन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघका भवनमा भइरहेको प्रतियोगिताको फाइनल पुग्ने क्रममा नेपालका शीर्ष स्क्वास खेलाडी अरहन्तले उमित श्रेष्ठलाई सीधा सेटमा ११–४, ११–३ र ११–५ ले हराए ।

अर्को सेमिफाइनल खेलमा अमिर ब्लोनले दिपक थापाको चुनौती ११–८, १२–१४, ११–७, ६–११ र १२–१० ले पार गरे ।

यसैगरी मास्टर्स प्लस ५० को उपाधि भिडन्त छविलाल पाइजापुन र प्रज्वलप्रकाश प्रधानबीच हुने भएको छ । छविलालले अनिल बज्राचार्यलाई ११–६, ११–६, ११–६ र प्रज्वलले लालबहादुर गुरुङलाई ११–४, ११–४, ११७ ले हराएर फाइनलमा स्थान बनाएका हुन् ।

ब्वाइज यु १९ को सेमिफाइनलमा पासाङ ब्लोनले रोहन नेपाललाई ११–६, ११–६ र ११–४ तथा विकास तुम्सिङ मगरले राकेश परियारलाई १२–१०, ११–९ र ११–८ ले हराए ।

पासाङले प्लेट च्याम्पियनसीपको फाइनल पनि खेल्नेछन् । सो स्पर्धाको सेमिफाइनलमा पासाङले विकासलाई ४–११, ९–११, १२–१०, ११–४ र ११–७ ले हराएका हुन् ।

प्लेट च्याम्पियनसीपको दोस्रो सेमिफाइनलमा दिव्यराज बज्राचार्यले रिद्धी शाक्यलाई ११–३, ११–६ र ११–७ ले पराजित गरे ।

नेपाल स्क्वास र्याकेट संघ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वास आयोजना गरिएको हो ।

एक्स स्टेपको प्रायोजन रहेको प्रतियोगितामा पुरुष ओपन, महिला ओपन, ब्वाइज यु–१९, गर्ल्स यु–१९, मास्टर्स ५० प्लस र प्लेट गरी छ विधामा खेल भइरहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ४ : ०३ बजे