Logo

Breaking News 1

एलपीएलः भुवनले असाधारण प्रदर्शनसँगै धनगढी सेमिफाइनलमा



कैलाली । देब्रे हाते स्पिनर भुवन कार्कीले असाधारण बलिङ प्रदर्शन गर्दै ८ विकेट लिँदा धनगढी स्पोर्ट्स क्लब कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ संस्करणको सेमिफाइनल प्रवेश गरेको छ ।

सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने खेलमा धनगढी स्पोर्ट्स क्लबले खप्तड इनडोर स्पोर्ट्स ट्रेनिङ सेन्टरलाई ६७ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने चौथो टिम बन्नपुग्यो ।

यसअघि समूह ‘बी’ बाट यूथ अफ टिकापुर, समूह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडेमी र समूह ‘डी’ बाट सत्यवती एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

शुक्रबार प्रतियोगिताका दुईवटा सेमिफाइनल खेल सञ्चालन हुने छन् । पहिलो सेमिफाइनल बिहान ९ बजे धनगढी स्पोर्ट्स क्लब र घोडाघोडी क्रिकेट एकेडेमी तथादिउँसो १ बजे सत्यवती एकेडेमी र यूथअफ टिकापुर प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल शनिवार हुनेछ ।

फाप्ला क्रिकेट मैदानमा धनगढी स्पोर्ट्स क्लबले दिएको १६४ रनको लक्ष्य पछ्याएको खप्तड इनडोर ले १९.३ ओभरमा ९६ रन बनाउँदा सबै विकेट गुमायो ।

लक्ष्य पछ्याउने क्रममा ७९ रनमा १ विकेट गुमाएको अवस्थाबाट थप १७ रन जोड्दा खप्तड स्पोर्ट्सले सम्पूर्ण विकेट गुमायो ।

प्लेयर अफ द म्याच घोषित भुवन कार्कीले ८ विकेट लिने क्रममा ४ ओभरमा १८ रन खर्चिए । त्यस क्रममा उनले इनिङ्सको पन्ध्रौँ ओभरमा ३ विकेट तथा सत्रौं ओभरमा ४ विकेट लिएका थिए ।

कार्कीले तीन पटक लगातार २–२ विकेट लिए पनि ह्याट्रिक विकेट भने पूरा गर्न सकेनन् । कार्कीले तीन ब्याटरलाई बोल्ड तथा पाँच ब्याटरलाई क्याच आउट गरे । टिमका अर्का स्पिनर सुनिल धमलाले २ विकेट लिए ।

खप्तड इनडोर स्पोर्ट्सको ब्याटिङमा अभिषेक थापाले सर्वाधिक ४२ रन तथा प्रकाश पाण्डेले ३० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको धनगढी स्पोर्ट्स क्लबले २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनायो ।

धनगढी स्पोर्ट्सका लागि ओपनर सुनील धमलाले अर्ध शतकीय योगदान दिए । धमलाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे । कप्तान भुवन कार्कीले ३६, प्रणीत थापाले २६ तथा अमरसिंह रौटेलाले अविजित १२ रन योगदान दिए । धमलाले दोस्रो विकेटका लागि भुवन कार्कीसँग ८४ रनको तथा तेस्रो विकेटको लागि प्रणीत थापासँग ५४ रनको साझेदारी गरे ।

खप्तड इनडोर स्पोर्ट्सको बलिङमा रबि बिष्ट र आर्यन विष्टले २–२ विकेट तथा वीरेन्द्र बमले १ विकेट लिए ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको यो आठौँ संस्करण हो । प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँसहित ट्रफी पाउने छन् ।

प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ३ : ५५ बजे