Logo

Breaking News 1

भूकम्प प्रभावितका लागि घरटहरा बनाउने कांग्रेसको दोस्रो चरण अभियान भोलिदेखि



काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा दोस्रो चरणको आवास निर्माण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मंसिर २६ गतेदेखि पुस ६ गतेसम्म भूकम्प प्रभावितका लागि दोस्रो चरणको अस्थायी घर टहरा निर्माण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

भूकम्प प्रभावित क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट एक हजार अस्थायी घर टहरा निर्माण गर्ने प्रतिवद्धताका साथ पहिलो चरणमा कात्तिक २२ गतेदेखि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितको टोली जाजरकोट र रुकुम पश्चिम गएको थियो ।

उक्त अभियानमा केन्द्रीय सदस्यहरू, स्थानीय रुपमा संयोजन गर्ने प्रभावित क्षेत्रका पार्टीका प्रतिनिधि, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

दोस्रो चरणको कार्यक्रममा केन्द्रीय सदस्यको नेतृत्वमा घर टहरा निर्माण, समन्वय र सहजीकरणका लागि नयाँ टोली रहने जनाइएको छ ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल लोकतान्त्रिक खेलकुद संघका छुट्टाछुट्टै टोली प्रभावित क्षेत्रमा खटिने जनाइएको छ । लुम्बिनी प्रदेशका सवै जिल्लाहरू, कर्णाली प्रदेशका सुर्खेत र दैलेख तथा गण्डकी प्रदेशको बागलुङ जिल्लाको टोली समेत अस्थायी घर टहरा निर्माणमा खटिनेछ ।

घर टहरा निर्माणमा खटिने सबै टोलीले मापदण्डको पूर्ण जानकारी लिई सोहीअनुसार निःशुल्क रुपमा घर टहरा निर्माण कार्य सम्पन्न गर्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १२ : १३ बजे