Logo

Breaking News 1

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै आज शतबीज छरिँदै



काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् ।

पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्छन् । देशका विभिन्न भागबाट राजधानी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदेशीको बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा आइतबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति रहने गरी व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपतिनाथ आउने भक्तजनलाई कोषले पशुपति क्षेत्रका विभिन्न स्थानमा रोपेका बिरुवा नभाँच्न अनुरोध गरेको छ । ढुङ्गा छापेका स्थानमा शतबीज नछर्न पनि उनले आह्वान गरेका छन् । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् । शतबीज भनिएपनि हाल सप्तबीज ९धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो० छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ६ : ३९ बजे