Logo

मुख्य समाचार

मिडिया भड्काउने अभिव्यक्ति दिएको भन्दै धनगढीका मेयरलाई पत्रकार महासंघले बुझायो ध्यानाकर्षणपत्र



कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई नेपाल पत्रकार महासंघ कैलाली शाखाले आज ध्यानाकर्षणपत्र बुझाएको छ ।

हमालले मङ्सिर १९ गते बिहान आफ्नो आधिकारिक फेसबुक पेजबाट समाचार प्रकाशन प्रसारण भएकै कारण आमनागरिकलाई मिडियाविरुद्ध भड्काउन खोजेको भन्दै महासंघले ध्यानाकर्षणपत्र बुझाएको हो ।

फेसबुक पेजमा मेयर जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले आमनागरिकलाई समाचार लेख्ने अनलाइन, पत्रपत्रिका र फेसबुकमा लेख्नेलाई वाच गर्न भनिएको अभिव्यक्ति प्रेस स्वतन्त्रताविरोधी भएको भन्दै पत्रकार महासंघ कैलालीसहित विभिन्न पत्रकारका सङ्घसङ्गठनले विरोध जनाएका थिए ।

पत्रकार र मिडिया हाउसविरुद्ध आमनागरिकलाई भड्काउन मेयरले अभिव्यक्ति दिएको ठहर गर्दै ध्यानाकर्षणपत्र बुझाइएको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए ।

ध्यानाकर्षणपत्रमा मेयर हमालको अभिव्यक्तिका कारण कुनै सञ्चारकर्मी र मिडिया हाउसमाथि आक्रमण भएमा, गालीगलौज वा धम्की आएमा त्यसको जवाफ स्वयं हमालले नै दिनुपर्ने उल्लेख छ ।

तत्काल सोही माध्यमबाट पत्रकारिताप्रतिको आफ्नो धारणा राख्न र पोस्ट गरेको सामग्री तत्काल सच्याउन माग गरिएको छ । त्यसो नभएमा मिडिया संस्था र मिडियाकर्मीहरू आन्दोलनमा उत्रिने समेत चेतावनी दिइएको छ ।

मेयर हमालले आफूले सबै मिडियालाई आरोप लगाउन नखोजेको बताएका थिए । पत्रकार महासंघले भने समग्र पत्रकार तथा मिडियामा आँच आउने अभिव्यक्ति भएको भन्दै उक्त अभिव्यक्तिको विरोध गरेको जनाएको हो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  २ : २३ बजे