Logo

अर्थ

चिया व्यवसाय संकटमा



झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय संकटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/०८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्थामा सरोकारवालाले चिया क्षेत्रमा गम्भीर संकट निम्तिएको बताएका हुन् ।

बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा नेपालबाट अर्थोडक्स र सीटीसी चिया निर्यातबाट करिब  आठ अर्बको विदेशी मुद्रा भित्रिने आँकलन गरेको बताए ।

चिया क्षेत्रका विद्यमान समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने र सरोकारवालाले उठाएका सबैखाले समस्याको उचित सम्बोधन गर्दै राज्य पक्षलाई समेत समस्याको जानकारी गराउने उनले बताए । गत वर्ष चिया निर्यातबाट मात्र नेपालमा तीन अर्ब ८० करोड रकम भित्रिएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

नेपालमा २० हजार दुई सय ३७ हेक्टरमा चियाखेती लगाइएको बोर्डले जनाएको छ । त्यसमध्ये ९९ प्रतिशत उत्पादन कोसी प्रदेशमा भइरहेको छ । सत्तरी हजार नागरिकले रोजगारी पाइरहेको चियाका ३० वटा अर्थोडक्स र ३८ वटा सीटीसीका उद्योग सञ्चालित छन् । नेपाली चियाको मुख्य बजार भारत, चीन, श्रीलंका, रसिया, नेदरल्याण्डलगायतका राष्ट्रमा रहेको बोर्डको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ८ : ४५ बजे