काठमाडौं । दक्षिण अमेरिकी देशहरु बीच हुने प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ ।
सन् २०२४ को जुनमा हुने कोपा अमेरिकाको खेल तालिका शुक्रबार सार्बजनिक गरिएको हो ।
अमेरिकामा हुने कोपा अमेरिकामा दक्षिण अमेरिका १० देश र उत्तर तथा मध्य अमेरिकी ६ देश सहभागी हुँदै छन् ।
प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० देश अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलोम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला खेल्दै छन् । त्यस्तै उत्तर तथा मध्य अमेरिकी देशबाट नेसन्स लिग र प्लेअफबाट ६ देश छानिदै छन् ।
उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३–२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छनोट भएका छन् भने बाँकी दुई टिम प्लेअफ खेलेर छनौट हुने छन् ।
शुक्रवार बिहान सार्वजनिक ड्र अनुसार डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना पेरु र चिलीसहित समुह ए मा परेको छ । साथै प्लेअफबात आउने कोनकाकाफ क्षेत्रको पाँचौं टिम यस समुहमा हुने छ ।
त्यस्तै समूह बी मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन् भने समूह सी मा आयोजक अमेरिकासहित उरुग्वे, पानामा र बोलिभिया रहेका छन् । त्यस्तै समूह डी मा ब्राजिल, कोलम्बिया, पाराग्वे छन् भने प्लेअफबाट आउने कोनकाकाफ क्षेत्रको छैटौं देश हुने छ ।
चार समुहका विजेता र उपविजेता सिधै क्वाटरफाइनलमा पुग्ने छन् । कोपा अमेरिकाको पहिलो खेल २०२४ को जुन २० मा अर्जेन्टिना र प्लेअफबाट आउने कोनकाकाफ क्षेत्रको पाँचौं टिमबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल जुलाई १४ मा हुदै छ ।
प्रतिक्रिया